माओवादीका नाममा चन्दा उठाउँदा वाईसिएलको भाटे कारवाहीमा परेका साम्पाङ मेयर हुँदा पनि चन्दा उठाउँछन्
इटहरी– धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क साम्पाङ) सामाजिक सञ्चालमा प्राय चर्चामा रहने गरेका जनप्रतिनिधि हुन। मेयरमा निर्वाचित भएदेखि अहिलेसम्म पनि सामाजिक सञ्जालमा उनको चर्चा कहिलै कम भएको छैन।
सुरुका दिन उनी राजनीतिक दलका उम्मेदवारको दबदबाकाबीच स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका कारण चर्चामा रहे। त्यसपछि खानेपानीका लागि काकाकुल वनिरहेका धरानेलाई श्रमदानबाटै खानेपानीको ब्यवस्थापन गर्ने भनेर ‘ढुङ्गे मेयर’ का नामले चर्चामा रहे।
त्यसपछि भने उनको चर्चा कम आलोचना धेरै हुन थालेको छ। कार्यालयको वोर्डमा नेपाल सरकार हटाएर स्थानीय सरकार लेख्ने, कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएर किराती राजा यलम्बरको तस्वीर राख्ने, अरुको जग्गामा वृक्षारोपण गर्ने, मन्दिरको अगाडी चर्च वनाउने, गाई/गोरु काटेर भोज गरेको विषयलाई सार्वजनिक गरेर धार्मिक द्वन्द्व मच्चाउनेहरुको समर्थन गर्ने, उपमेयर हुँदा हुँदै नातेदार वडाध्यक्षलाई कार्यवाहक दिने, जनप्रतिनिधि र कार्यालयका कर्मचारीलाई डोमिनेट गर्ने, आफु अनुकुलका कर्मचारी भर्ति गर्ने, आफुले भनेको नमानेको र औला उठाएको भन्दै युवाहरुलाई प्रहरी लगाएर पक्राउ गराउने, संघीय मन्त्री र सांसदलाई धरान प्रवेशमा प्रतिवन्ध लगाउने, खोलामा पार्क वनाउने, आसेपासे वाहेक सवैलाई मुर्ख भन्दै सञ्जालमै गाली गर्ने, मन नपर्ने मान्छेलाई गित वनाएर खुल्याउने, पत्रकारलाई धम्की दिनेलगायतका गतिविधिले उनको आलोचनाले सधैं शिखर चुमेको छ।
तथानाम बोल्ने र गल्ति कहिलै नस्विकार्ने उनको स्वभावकै कारण एक पटक काठमाडौंका मेयर बालेन्द्र साहसँग समेत उनको सामाजिक सञ्जालमा दोहोरी चलेको थियो। काठमाडौंको फोहोरका विषयमा उनले सामाजिक सञ्जालमा आलोचना गरेपछि बालेन्द्रसँग उनको फेसवुकमा भनाभन भएको थियो।
पछिल्लो समय भने उनी पत्रकारलाई धम्क्याएको र खानेपानीका नाममा दाताहरुले दिएको रकम हिनामिना गरेको विषयमा आलोचना भोगी रहेका छन्। अराजक अभिव्यक्तिका पर्याय मानिने साम्पाङले हिजो मात्रै पत्रकार गोपाल दाहाललाई फेसवुकमा धम्क्याए। ‘हर्क साम्पाङको मनमौजी शासन, बेथितिको दलदलमा धरान’ शीर्षकमा समाचार लेखेपछि साम्पाङले ती पत्रकारलाई ‘ऐना हेर्दा थुक्ने बनाइदिन्छु’ भन्दै अशोभनीय चेतावनी दिए।
‘पत्रकार भेटमा मलाई आरोप लाउने त्यो खोज पत्रकारिता गर्ने पत्रकार पनि आउनु होला, नत्र तँ मूलाको यस्तो बेइजत गर्छु कि शीर ठाडो पारेर हिँड्न सक्दैनस् नेपालमा। निक्कै फुरफुर गरिस् तिमेरुले, ऐना हेर्दा थुक्ने बनाइदिन्छु, नत्र मेरो नाम हर्क साम्पाङ होइन!’ भन्दै एउटा पोष्ट लेखेका छन् भने अर्को पोष्टमा ‘खोज पत्रकारिता केन्द्रका गोपाल दहाल या कोही प्रतिनिधि भोलि १० बजे तुरुन्तै धरान–१८ को ग्रीन टीमा हाजिर हुनू, अन्यथा तेरो खोज पत्रकारिताको अन्त्य गरिनछु भने मेरो नाम हर्क साम्पाङ होइन ! बुझिस् चोरफटाहा !’ भन्दै उर्दी जारी गरे।
यति मात्रै होईन, अव उनी आर्थिक रुपमा पनि गन्हाउन थालेका छन्। खासगरी कोकाहा खानेपानी अभियानमा संकलित करोडौँ रकममा साम्पाङले मनमौजी गरेपछि उनको गन्ध देशमा मात्र होईन विदेशमा पनि फैलिएको छ। उपमहागरपालिकाका एक कर्मचारीका अनुसार कोकाहा खोलाको पानीलाई धरानसम्म पुर्याउने अभियानमा देश तथा विदेशबाट ७ करोड रुपैयाँ संकलन भएको यियो। उक्त रकममध्ये ५० लाख २५ हजार रुपैयाँ खाजामा मात्रै खर्च भएको साम्पाङले बताएका छन्।
साम्पाङलाई इमानदार ठान्दै देश–विदेशबाट करोडौं रुपैयाँ चन्दा पठाएकाहरुले नै अव यस विषयमा छानविन हुनु पर्ने माग गर्न थालेका छन्। उसो त आर्थिक रूपमा उनको विगत स्वच्छ छैन। २०६२ सालतिर धरानमा माओवादीको नाम लिँदै चन्दा असुल्दै गर्दा साम्पाङ माओवादीकै नियन्त्रणमा परेका थिए।
माओवादीका तत्कालीन इन्चार्ज प्रवेश राईको निर्देशनमा वाईसीएलले साम्पाङलाई नियन्त्रणमा लिएको थियो। वाईसिएलले उनलाई भानुचोक घुमाउँदै धरान–१५ स्थित रम फ्याक्ट्रीमा रहेको शिविरमा पुर्याएर छाला फर्किने गरी कुटेको थियो। पार्टीका तत्कालीन इन्चार्ज प्रवेशका अनुसार शिविरमा राखेकालाई कुटपिट गर्न नहुने नीति विपरीत साम्पाङलाई धेरै कुटेपछि वाईसीएलका केही कार्यकर्ता कारबाहीमा समेत परेका थिए।
यसरी माओवादीको कारबाहीमा परेका वेला उनी धरानको पुतली लाइनमा विष्णु थाम्देन र जीवन सुब्बासँग मिलेर सञ्चालन गरेको द पर्फेक्ट इङ्लिस ल्याङ्ग्वेज एन्ड कम्प्युटरका प्रबन्ध निर्देशक थिए। यो घटनापछि उनी वैदेशिक रोजगारीमा अफगानिस्तान गए। विदेशबाट फर्किएपछि उनी गुमनाम थिए।
मदन भण्डारी राजमार्ग विस्तारका क्रममा दाजुको घर जोगाउन आन्दोलित भएका उनी चर्चामा आए। त्यसपछि खानेपानीको मुद्दा उठाएर मेयर बने। साम्पाङले अहिले पनि देश–विदेशबाट चन्दा संकलन गरिरहेको जनाईन्छ। साम्पाङले अधिकांश चन्दा विदेशमा रहेका नेपालीबाट उठाइरहेका छन्। तर यसरी पैसा ल्याउँदा कतैबाट अनुमति लिइएको छैन।