१ वर्षअघि हमास लडाकुको अपहरणमा परेका नेपाली विद्यार्थी विपिन जोशी जिवितै रहेको राजदुतको दावी

काठमाडौँ– १ वर्षअघि हमास लडाकुको अपहरणमा परेका नेपाली विद्यार्थी विपिन जोशी जीवितै रहेको नेपालका लागि इजरायलका नव नियुक्त राजदूत श्मुलिक एरी बासले जानकारी दिएका छन्।

बिहीबार राजधानीमा पत्रकारहरूसँगको छलफलमा राजदूत बासले अरब स्रोतहरूले विपिन जोशी जीवित रहेको जानकारी दिएको बताए। ‘अरब स्रोतहरूले विपिन जोशी जीवित रहेको बताएका छन्। तर, उहाँलाई कहाँ राखिएको छ र अहिले उहाँ कुन अवस्थामामा हुनुहुन्छ भन्ने कुरा हामीलाई थाहा छैन,’ उनले भने–‘हामी उहाँ चाँडै नेपाल फर्कनुहुने आशा गर्छौं। उहाँ अपहरणमा परेका कैयौँ व्यक्तिहरूमध्ये रिहा हुनेमध्ये एक हुनुहुनेछ भन्ने विश्वास छ।’

हमास लडाकुहरूको कब्जामा रहेका १ सयभन्दा बढी इजरायली र विदेशी नागरिक अझै पनि बन्धक छन्। ‘म जोशीको परिवार र अन्य व्यक्तिहरूले उहाँको बारेमा कस्तो महसुस गरिरहनुभएको छ भनेर बुझ्न सक्छु। तर, हामीले बुझ्नुपर्छ, विपिनजस्ता अरू पनि धेरै छन्,’ राजदुतले भनेका छन्।

सन् २०२३ अक्टोबर ७ मा नोभा म्युजिक फेस्टिभलमा सहभागी सबैलाई र वरपरका क्षेत्रमा बस्नेहरूमाथि हमास लडाकुहरूले आक्रमण गरेका थिए। त्यो आक्रममा इजरायलमा ‘अर्न एन्ड लर्न’ कार्यक्रमअन्तर्गत पुगेका १० नेपाली विद्यार्थीको क्रुर हत्या भएको थियो। ११औं विद्यार्थी विपिन जोशीलाई हमासले अपहरण गरेको थियो।

राजदूतका अनुसार इजरायली सरकारले मारिएका ती नेपाली विद्यार्थीका परिवारलाई इजरायली नागरिकका परिवारले जस्तै आर्थिक सहयोग उपलब्ध गराइरहेको छ। साथै, उनले नेपालका विद्यार्थीहरू फेरि इजरायलको ‘अर्न एन्ड लर्न’ कार्यक्रममा सहभागी हुने आशा पनि व्यक्त गरे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट