सिराहामा अटोको ठक्करबाट युवकको मृत्यु, विहानैदेखि प्रदर्शन, सडक अवरुद्ध

लहान– सिराहा चोहर्वा खण्डको भलुवाही चौकमा बुधबार साँझ अटोरिक्साको ठक्करबाट एक युवकको मृत्यु भएको छ।

स१ ह ७२४ नम्बरको अटोको ठक्करबाट सिराहा नगरपालिका–११, भलुवाहीका १८ वर्षीय नीरज कामतको घटनास्थलमै मृत्यु भएको हो। दुर्घटनापछि आक्रोशित स्थानीयले बिहीबार बिहानैदेखि सिराहा–चोहर्वा सडक खण्ड अवरुद्ध गरेका छन्। राजमार्गमा टायर बालेर सडक अवरुद्ध गरिएको छ।

घटनामा संलग्न चालक तथा सवारी धनीमाथि कारबाही तथा पीडित परिवारलाई क्षतिपूर्तिको माग गर्दै स्थानीयले प्रदर्शन गरिरहेका छन्। प्रदर्शनका कारण सदरमुकाम सिराहा बजार जाने र आउने सबै सवारीसाधन ठप्प छन्।

घटनास्थलमा प्रहरी परिचालन गरिए पनि प्रदर्शनकारीहरूको माग तत्काल सम्बोधन गर्न नसकिँदा समस्या समाधान हुन सकेको छैन। स्थानीय प्रशासनले समस्या समाधानका लागि वार्ताको प्रयास गरिरहेको छ।

जिल्ला प्रहरी कार्यालय सिराहाका डीएसपी वीरेन्द्र पासवानले अटो चालकलाई नियन्त्रणमा लिईएको जानकारी दिएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट