गाँजा तस्करीमा प्रयोग भएका गाडीको नम्बर अख्तियार र कानुन मन्त्रालयको गाडीसँग मिल्यो
इटहरी– सुनसरीमा गाँजा तस्करीमा प्रयोग भएका २ वटा गाडीको सरकारी नम्वर प्लेट अख्तियार दुरुपयोग अनुशन्धान आयोग र कानुन मन्त्रालयका गाडीसँग मेल खाएको छ।
सुनसरी प्रहरीले मंगलबार राती धरान उपमहानगरपालिका–१३, अमरहाटबाट ६९० किलोग्राम गाँजा बोकेका बा १ झ ४६०५ र बा.१ झ ५१२७ नम्बरका स्कोर्पियो नियन्त्रणमा लिएको थियो।
ती गाडी मध्ये बा१झ ४६०५ नम्बरको स्कोर्पियोको नम्बर अख्तियार दुरुपयोग अनुशन्धान आयोग र बा१झ ५१२७ नम्बरको स्कोर्पियोको नम्वर आन्तरिक मामिला तथा कानुन मन्त्रालयको गाडीसँग मेल खाएको प्रहरीले जनाएको छ।
बा१झ ४६०५ नम्बरको स्कोर्पियोमा ३३० किलोग्राम र अर्को गाडीमा ३६० किलोग्राम गाँजा बरामद भएको थियो। गाडीमा गाँजा लुकाएर ढुवानी भइरहेको सूचना प्राप्त भएसँगै प्रहरीले अमरहाटमा तत्कालै गाडी चेकजाँच सुरु गरेको थियो।
प्रहरीको चेकिङ देखेपछि चालकले प्रहरीलाई छलेर गाडी भगाउने प्रयास गरेका थिए। त्यसपछि प्रहरीले गाडी र चालकलाई नियन्त्रणमा लिन ४ राउन्ड गोली चलाएको सुनसरी प्रहरीका एसपी सुमन तिम्सिनाले बताए। प्रहरीको चेकिङलाई नै ठक्कर दिनेगरी तस्करले गाडी भगाएपछि गोली चलाउनु परेको उनको भनाई छ।
त्यसपछि बा.१ झ ४६०५ नम्बरको स्कोर्पियोका चालक मोरङका ३६ वर्षीय श्यामकुमार विकलाई पक्राउ गरिएको छ र अर्को गाडीको चाकल भने गाडी छोडेर भागेको प्रहरीले जनाएको छ। नियन्त्रणमा लिएका गाडीको नम्बर प्लेट सम्वन्धित कार्यालयकै हो की नक्कली नम्बर प्लेट हो भन्ने विषयमा अनुशन्धान भईरहेको एसपी तिम्सिनाले वताए।
फरार भएका चालकको पनि खोजी भइरहेको उनको भनाई छ।