रवि लामिछाने विरुद्ध पर्सामा पनि जारी भयो पक्राउ पूर्जी

जनकपुर– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध पर्सामा पनि पक्राउ पूर्जी जारी भएको छ। पर्सा जिल्ला अदालतले वीरगन्जस्थित सानो पाइला सहकारीको बचत रकम हिनामिना भएको विषयमा अनुशन्धान गर्न प्रहरीलाई पक्राउ अनुमति दिएको हो।

सहकारीको वचत रकम गोर्खा मिडियामा गएको देखिएपछि लामिछानेलाई पर्सामा पनि प्रहरीले अनुसन्धान गर्न लागेको हो। प्रहरी स्रोतका अनुसार लामिछानेसहित १४ जनालाई पक्राउ गर्न बुधबार जिल्ला अदालत, पर्साले अनुमति दिएको हो।

पर्सामा गितेन्द्रबाबु राई, छविलाल जोशी, रवि लामिछानेलगायतका नाममा पक्राउ पुर्जी जारी भएको छ। गत २ कात्तिकमा पक्राउ परेका लामिछानेको हाल चितवनमा बयान दिईरहेका छन्। सानो पाइला सहकारीको रकम हिनामिनामा एक चरणमा अनुसन्धान गरी प्रहरीले गत वर्ष नै मुद्दा दायर गरिसकेको छ।

एमाले सांसद सुर्य थापा नेतृत्वको संसदीय विशेष छानबिन समितिको प्रतिवेदनका आधारमा थप अनुसन्धान हुन लागेको हो। जिबी राईको समूहले सञ्चालन गरेका पाँच सहकारीबाट करोडौँ रकम गोर्खा मिडियामा गएको छानविन समितिले देखाएको थियो।

लामिछाने गोर्खा मिडियाको सञ्चालक तथा प्रबन्ध–निर्देशक थिए। उनी गोर्खा मिडियामा रहँदा उनकै एकल हस्ताक्षरले करौडौ रकमको चेक काटेर खर्च गरिएका आधारमा लामिछाने अनुसन्धानमा तानिएका हुन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट