बीआरआई फ्रेमवर्कबाट नेपालका दुई प्रश्ताव चीनले हटायो, त्यसमै सहमत भएर प्रम ओलीले गरे सम्झौता
काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा नेपाल र चीनबीच ‘बीआरआई सहकार्य फ्रेमवर्क’ मा हस्ताक्षर भएको छ। बुधबार बिहान ‘फ्रेमवर्क फर बिआरआई कोअपरेसन’ ְमा सम्झौता भएको हो।
फ्रेमवर्क सम्झौतामा नेपालका तर्फबाट परराष्ट्र सचिव अमृतबहादुर राई र चीनतर्फ नेशनल डेभलपमेन्ट रिफर्म कमिशनका उपाध्यक्ष लिउ सुशेले हस्ताक्षर गरेका छन्। फ्रेमवर्कमा नेपालले प्रश्ताव गरेका १२ मध्ये २ वटा परियोजना भने चीनले हटाई दिएको छ। फ्रेमवर्कभित्र अव १० वटा परियोजना समेटिएका छन्।
यसअघि तयार पारिएको फ्रेमवर्कको मस्यौदामा ‘ग्रान्ट फाइनान्सिङ’ लेखिएको ठाउँमा ‘एड फाइनान्सिङ’ राखेर हस्ताक्षर गरिएको छ। ग्रान्टको अर्थ अनुदान भन्ने हुन्छ भने एडको अर्थ सहायता भन्ने हुन्छ। त्यो अनुदान या ऋण दुवै हुन सक्छ।
मंगलबार सरकारले बिआरआईअन्तर्गत सञ्चालन गर्ने परियोजनाहरू चीनले अनुदानमा बनाइदिनुपर्ने र बिआरआई अन्तर्गत ऋण नलिने प्रश्ताव गरेको थियो। यो प्रश्तावमा चीन असहमत भयो। त्यसपछि नेपाल र चीनका अधिकारीहरूबीच भएको अनौपचारिक छलफलमा बीचको बाटो खोज्ने सहमति भएको थियो।
नेपालले प्रस्ताव गरेको फ्रेमवर्कको मस्यौदाको ‘ग्रान्ट फाइनान्सिङ’ भन्ने शब्द हटाएर चीनले ‘फाइनान्सिङ’ मात्रै राखेको थियो। बिआरआई अन्तर्गत ऋण नलिने नेपाली कांग्रेसको अडानकै कारण अनुदानमात्रै लिनेगरी फ्रेमवर्क र परियोजनाहरूको सूची तयार पारेर सरकारले चीनको विदेश मन्त्रालयमा शुक्रबार पठाएको थियो।
सम्झौताको हस्ताक्षरित दस्ताबेजबाट काठमाडौं–हेटौंडा पोड–वे र काठमाडौं उपत्यका प्रसारण लाइन स्तरोन्नति गर्ने नेपालको प्रस्तावमा चीनले स्विकृती नदिएपछि हटाइएको छ। फ्रेमवर्कबाट मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय बनाउने प्रस्ताव पनि हटाईएको थियो। तर, पछि २ वटा परियोजना हटाइएर यसलाई समावेश गरिएको छ।
अब बिआरआई फ्रेमवर्क अन्तर्गत टोखा–छहरे सुरूङमार्ग, हिल्सा–सिमकोट सडक, किमाथांका–खाँदबारी सडक र पुल, जिलोङ–केरूङ–काठमाडौं ट्रान्सबोर्डर रेल्वे, जिलोङ–केरूङ–चिलिमे २२० केभी ट्रान्सबोर्डर ट्रान्समिसन लाइनको काम अघि बढ्ने छ।
यस्तै, मदन भण्डारी विश्वविद्यालय, काठमाडौं साइन्टिफिक सेन्टर एण्ड साइन्स म्युजियम, झापाको दमकमा रहेको चीन–नेपाल औद्योगिक मित्रपार्क, दमकमै बन्ने झापा स्पोर्ट्स एण्ड एथ्लेटिक्स कम्लेक्स र डडेल्धुराको अमरगढी सिटीहल पनि बिआरआई फ्रेमवर्क अन्तर्गत बन्ने भएका छन्।
१० परियोजनामध्ये झापाको स्पोर्ट्स एकेडेमी र अमरगढीको सभा हल सरकारको विशेष अनुरोधमा समावेश भएको हो। मंगलबार मात्रै प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निर्वाचन क्षेत्रमा एक–एक आयोजना बनाइदिन नेपालले चीन सरकारसँग आग्रह गरेको थियो।
चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार उच्चस्तरीय भेटवार्ता सकेपछि निकालिएको संयुक्त वक्तव्यमा नेपालका तर्फबाट यस्तो आग्रह गरिएको उल्लेख थियो। यसअघि कांग्रेस र एमालेबीच भएको छलफलमा प्रधानमन्त्री ओलीले चीनले आफू र कांग्रेस सभापति देउवाको क्षेत्रमा एउटा–एउटा आयोजना उपहार दिन लागेको ब्रिफिङ गरेका थिए।
तर मंगलबारको संयुक्त विज्ञप्तिमा भने नेपालले नै अनुरोध गरेको उल्लेख भएको थियो।
फ्रेमवर्कमा परेका १० परियोजना
१, टोखा–छहरे सुरुङमार्ग
२, हिल्सा–सिमकोट सडक परियोजना
३, किमाथांका–खाँदबारी सडक र पुल
४, जिलोङ–केरुङ–काठमाडौं सीमापार रेलमार्ग
५, डडेलधुरास्थित अमरगढी सिटी हल
६, जिलोङ–केरुङ–रसुवागढी चिलिमे २२० केभी सीमापार प्रसारण लाइन
७, मदन भण्डारी विश्वविद्यालय
८, काठमाडौं साइन्टिफिक सेन्टर एन्ड साइन्स म्युजियम,
९, दमकस्थित चीन–नेपाल औद्योगिक मित्रपार्क
१०, झापा स्पोर्ट्स एन्ड एथलेक्टिस कम्प्लेक्स