रविका समर्थक र प्रहरीबीच चितवनमा झडप, अश्रुग्याँस प्रहार
काठमाडौँ– रवि लामिछानेका समर्थक र प्रहरीबीच चितवनमा झडप भएको छ।
रास्वपा सभापति तथा पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई बधुबार बयानका लागि जिल्ला सरकारी वकिल कार्यालय लैजाने क्रममा दुई पक्षबीच झडप भएको हो। स्थिती नियन्त्रणमा लिन प्रहरीले केही सेल अश्रु ग्यास समेत प्रहार गरेको छ।
झडपपछि रविका समर्थकहरुले प्रदर्शन गरिरहेका छन्। जिल्ला प्रहरी कार्यालय अगाडि भएको झडप अहिले केही मत्थर भएको प्रहरीले जनाएको छ ।
चितवनको सहारा बहुउद्देश्यीय सहकारी संस्थाकाको रकम अपचलन भएको विषयमा बयान लिन लामिछानेलाई मंगलबार काठमाडौंबाट चितवन लगिएको थियो। बयान नसकिएपछि आज बुधबार पनि लामिछानेको बयान चलिरहेको छ।
अर्कोतर्फ, सहकारी पीडितले पनि प्रदर्शन गरिरहेका छन्। पीडितहरूले ‘गोर्खा मिडियामा गएको ६५ करोड फिर्ता गर’ लेखिएको ब्यानरमा जीबी राई, रवि लामिछानेलगायतको तस्बिर राखेर प्रदर्शन गरिरहेका छन्।
जीबी राईलाई तत्काल पक्राउ गर्न पनि सरकारसँग उनीहरुले माग गरेका छन्।