पञ्जाबका पूर्वमुख्यमन्त्री सुखवीर सिंहको हत्या प्रयास, गोली प्रहार गर्ने आक्रमणकारी पक्राउ
काठमाडौँ– भारतीय प्रान्त पन्जाबका पूर्वमुख्यमन्त्री सुखवीर सिंह बादलको हत्या प्रयास भएको छ। अमृतसरस्थित स्वर्ण मन्दिरमा बुधबार बिहान ‘अकाल तख्त’ को सजाय भोगिरहेको ठाउँमा सुखवीरमाथि गोली प्रहार भएको छ।
भिडिओमा देखिए अनुसार एक वृद्ध व्यक्तिले सुखवीर सिंह बादलतर्फ अघि बढेर पेस्तोलबाट गोली प्रहार गरेको देखिन्छ। तर, सुखवीरलाई गोली लागेको जानकारी प्राप्त भएको छैन। लगत्तै बादलसँगै उपस्थित मानिसले आक्रमणकारीलाई समातेका छन्।
भारतीय मिडियाले जनाए अनुसार सुखवीर सिंह बादललाई गोली प्रहार गर्ने व्यक्ति नारायण सिंह हुन्। उनी खालिस्तान आन्दोलनको समयमा सक्रिय थिए। उनी खालिस्तान लिबरेसन फोर्स र अकाल फेडरेसनसँग सम्बद्ध रहेको बताइएको छ।
सोमबार अकाल तख्तले बादल र उनको मन्त्रीमण्डलका अधिकांश सदस्यलाई धार्मिक सजाय सुनाएको थियो। यसअन्तर्गत बादललाई स्वर्ण मन्दिरको गेटमा भाला लिएर पहरा दिने दण्ड दिइएको थियो। उनी सोही सजाय काटिरहेका वेला आक्रमण भएको हो।