राहुल गान्धीलाई उत्तर प्रदेश प्रवेशमा प्रशासनले नै लगायो रोक, प्रहरीमा सर्कुलर
काठमाडौं- भारतीय कांग्रेसका नेता राहुल गान्धीलाई उत्तर प्रदेश राज्य प्रवेशमा रोक लागेको छ। गान्धीलाई राजनीतिक कारणले र अरु कसैले नभई स्थानीय प्रशासनले नै उत्तर प्रदेश प्रवेशमा रोक लगाएको छ।
लोक सभाका प्रतिपक्ष दलका नेता राहुल गान्धी बुधबार उत्तर प्रदेशको सम्भल भन्ने जिल्लामा जाँदैछन्। शाही जामा मस्जिद सर्भेको क्रममा गत नोभेम्बर २४ मा भएको हिंसामा मृत्यु भएकाका परिवारलाई भेट्न राहुल गान्धी सम्भल जान लागेका हुन्।
तर, उनलाई प्रवेश नदिन प्रशासनले छिमेकी चार जिल्ला गाजियाबाद, गौतमबुद्ध नगर, बुलन्द शहर र अमरोहा प्रहरी प्रशासनलाई सर्कुलर गरेको छ। सम्भलका जिल्ला अधिकारीले प्रहरीलाई लेखेको सर्कुलरमा भनिएको छ, ‘भारतीय नागरिक सुरक्षा संहिता २०२३ को धारा १६३ अनुसार सम्भलमा २९ नोभम्बरदेखि १० डिसेम्बरसम्म कुनै पनि बाहिरी व्यक्तिलाई प्रवेशमा प्रतिबन्ध लगाइएको छ। त्यसैले राहुल गान्धीको गतिविधिमा सतर्क रहँदै निगरानी राख्नू र सम्भल जाने क्रममा आफ्नो सीमामै रोक्नू।’
उत्तर प्रदेश प्रहरीका एक शीर्ष अधिकारीले राहुल गान्धीलाई उत्तर प्रदेशमै प्रवेश गर्न रोक्न हरसम्भव कोसिस गर्ने बताएका छन्।