घाँस काट्न गएकी १८ वर्षीया किशोरीको हत्या, ४ दिनपछि खाल्टोमा भेटियो शव
काठमाडौँ– गोरखामा ४ दिनदेखि हराईरहेकी १८ वर्षीया किशोरीको हत्या भएको छ। १५ मंसिरदेखि सम्पर्कविहिन भएकी बारपाक सुलिकोट गाउँपालिका–१, बारपाककी सुचिना घलेको शव खाल्टोमा पुरेको अवस्थामा फेला परेको छ।
घाँस काट्न भनेर डोको बोकेर जङ्गल गएकी सूचिना घर नफर्किएपछि परिवारका सदस्यले खोजी सुरु गरेका थिए। अथक प्रयास गर्दा पनि फेला पार्न नसकेपछि उनको खोजतलासमा सहयोग गरिदिन प्रहरी पनि गुहारे। त्यसपछि इलाका प्रहरी कार्यालय जौवारी र प्रहरी चौकी बारपाकबाट खटिएको प्रहरी टोलीले सुचिनाको शव फेला पारेको हो।
जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर वासुदेव पाठकका अनुसार स्थानीय मैखर्कको जङ्गलमा खाल्डोमा पुरिएको अवस्थामा सुचिनाको शव फेला परेको हो। नजिकै सुचिनाले घाँस काट्नका लागि लगेको डोको फेला परेको छ भने रगत र कपालसमेत फेला परेको छ।
घट्नास्थलको प्रकृति हेर्दा उनीमाथि आक्रमण भएको र जगल्ट्याएर लछारपछार पारी हत्या गरिएको हुनसक्ने प्रहरीको आशंका छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिएको छ। घट्नास्थलमा कुकुरसहितको विशेषज्ञ टोली पुगेर प्राविधिक जाँचसमेत गरेको इन्स्पेक्टर पाठकले जानकारी दिए।