जीबी राईकी प्रेमीकाको खाताबाट २६ करोडको कारोबार, क्रिप्टो र हाउजिङमा करोडौं लगानी
काठमाडौँ– कास्कीको पोखरा उपमहानगरपालिका–५ स्थित सूर्यदर्शन सहकारीको रकम अपचलनको छानविन गरिरहेको प्रहरीले संस्थाकी रिसेप्सनिष्ट लीला पछाईको बैंक खाताबाट अस्वभाविक रुपमा २६ करोडको कारोबार भएको फेला पारेको छ।
गुल्मीको मुसिकोट नगरपालिका–४ घर भई ललितपुर बस्ने ३२ वर्षीया पछाई सहकारी ठगी आरोपमा पक्राउ परेर प्रहरी हिरासतमै छिन्। उनी सूर्यदर्शन सहकारीमा रिसेप्सनिस्टको जागिरे थिईन। उनलाई धेरैले सूर्यदर्शन सहकारीका संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीबी) की प्रेमीकाका रुपमा चिन्छन्।
सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको प्रहरीले उनको बैंक खाताको विवरण सङ्कलन गरेको थियो। त्यसक्रममा उनले विभिन्न बैंकको खाताबाट २६ करोडको बैंकिङ कारोबार गरेको भेटिएको अनुसन्धानमा संलग्न जिल्ला प्रहरी कार्यालय कास्कीका एकजना अधिकृतले जानकारी दिए। उनका अनुसार पछाईले दुई वटा हाउजिङमा समेत ३ करोड लगानी गरेको भेटिएको छ।
उनले पोखराको लेखनाथ र भक्तपुरमा हाउजिङमा लगानी गरेको भेटिएको छ। चितवनस्थित सहारा सहकारीको पैसाले खुमलटारस्थित एक हाउजिङभित्र १ रोपनी २ आना जग्गामा निर्मित भव्य बंगलासमेत जिबीले पछाईको नाममा राखेको पत्ता लागेको सिआइबी स्रोतले जनाएको छ।
जिबीसँग मिलेर सहकारी ठगीको रकमबाट चलअचल सम्पत्ति खरिद र शेयर कारोबारमा लगानी गरेको पाइएपछि १५ असोजमा ललितपुरको खुमलटारबाट पक्राउ परेकी उनी रवि लामिछाने र छविलाल जोशीसँगै कास्की प्रहरीको हिरासतमा छिन्।
उनको नामबाट क्रिप्टोमार्फत ३ करोड रकम विदेश पुगेको पनि अनुसन्धानबाट खुलेको छ। अनुसन्धानमा खुले अनुसार हाल उनको खातामा पैसा छैन। तर, क्रिप्टोको खातामा भने केही रकम मौज्दात देखिएको छ। पक्राउ पर्नुअघि उनी प्रेमी जिबीलाई भेट्न मलेसियासमेत पुगेकी थिइन्।