श्रीमती कुट्ने विश्वविद्यालयका प्राध्यापक पक्राउ, श्रीमती अस्पतालमा
काठमाडौँ– श्रीमती कुटेर घाईते वनाएको आरोपमा सुदूरपश्चिम विश्वविद्यालयका एक जना प्राध्यापकलाई प्रहरीले पक्राउ गरेको छ।
सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पस महेन्द्रनगरका उपप्राध्यापक पृथ्वीराज भट्टलाई प्रहरीले प्रहरीले पक्राउ गरेको हो। उनले शनिबार गोरबैयास्थित घरमै श्रीमती जयन्ती भट्टमाथि कुटपिट गरेको जनाईएको छ। जयन्ती आफै पनि शिक्षिका भएको खुलेको छ।
जयन्तीका माइती पक्षले प्रहरीमा पृथ्वीराज विरुद्ध उजुरी दिएका छन्। सोही उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनको कुटाईबाट घाइते भएकी जयन्तीको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।
महिला हिंसाविरुद्धको अभियान चलिरहेकै वेला पृथ्वीराजले श्रीमतीलाई कुटपिट गरेको घटना चर्चाको विषय वनेको छ। जयन्ती कार्यरत महेन्द्रनगर मावि, शिक्षक संघ संगठनले पृथ्वीराजलाई कारवाही हुनु पर्ने माग गरेका छन्।
सुदूरपश्चिम विश्वविद्यालयका उपप्राध्यापक पृथ्वीराज भट्टले भने आफ्नो घरपरिवार, आफन्तसँग सामान्य विवाद भएको र आफूले श्रीमतीलाई नकुटेको दाबी गर्दै आएका छन्। यद्यपि माइती पक्षले भने कुटपिटकै कारण जयन्ती अस्पतालमा उपचारार्थ रहेको दावीसहित कारवाही माग गरिएको उजुरी प्रहरीमा दिएका छन्।