उदयपुरमा कांग्रेसले जितेका दुवै वडा माओवादीले खोस्यो, वेलका ९ मा भरत र त्रियुगा १२ मा नविज विजयी
गाईघाट– ०७९ सालको स्थानीय तह निर्वाचनमा कांग्रेसले जितेका उदयपुरका २ वटा वडा उपनिर्वाचन मार्फत माओवादीले खोसेको छ। यसअघि कांग्रेसले जितेको त्रियुगा नगरपालिका–१२ र वेलका नगरपालिका–९ मा भएको उपनिर्वाचनमा दुवै ठाउँमा माओवादी उम्मेदवार निर्वाचित भएका छन्।
बेलका नगरपालिका–९ को अध्यक्षमा माओवादी केन्द्रका भरत घिमिरे २२ मतान्तरले विजयी भएका छन्। उनले ५ सय ५९ पाए। यसअघि वडाध्यक्ष जितेको नेपाली कांग्रेसका नवराज बस्नेत ४ सय ४ मतसहित तेस्रो भएका छन् भने एमालेका मोहन खड्का ५ सय २५ मतसहित दोस्रो भएका छन्।
०७९ को स्थानीय तह चुनावमा बेलका–९ मा कांग्रेसका पदमबहादुर खड्का विजयी भएका थिए। यसपटक विजयी भएको माओवादी केन्द्र भने त्यतिबेला १७६ मतसहित चौथो स्थानमा थियो। खड्काको गत असारमा मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएपछि रिक्त रहेको वडाध्यक्ष पदका लागि आइतबार उपनिर्वाचन भएको हो।
यसैगरी, त्रियुगा नगरपालिका–१२ मा माओवादीका नवीनकुमार वान्तवा राई निर्वाचित भएका छन्। उनले राईले ९२३ मत प्राप्त गरे। उनका निकट प्रतिद्वन्द्वी एमालेका लक्ष्मीनारायण चौधरीले ६०८ मत पाए। ०७९ को निर्वाचनमा यहाँ कांग्रेसका चुडाराज काफ्ले ४३९ मतसहित विजयी भएका थिए।
यसपालि माओवादीबाट निर्वाचित भएका नवीनकुमार वान्तवा राई त्यस वेला तेस्रो भएका थिए। यसपालि भने राई ३१५ मतान्तरसहित विजयी भए।