रवि लामिछानेका उम्मेदवारको कन्तविजोग, ११ जनाले पाएको मत हेर्दा लाज पनि लजायो

राजविराज– ‘जान्नेलाई छान्ने’ नारा बोकेको राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने पक्राउ परेपछि थला परेको छ। स्थानीय तह निर्वाचनले पनि सभापति पक्राउको असर देखाएको छ।

प्रतिनिधि सभाको चौथो दलका रुपमा प्रतिनिधित्व गरिरहेको रास्वपाले स्थानीयतह निर्वाचनमा कतिपय स्थानमा उम्मेदवार नै पाएन। उम्मेदवार पाएको र मनोनयन दर्ता गरेको ठाउँमा पनि अधिकांश स्थानमा लज्जास्पद हार व्यहोर्न वाध्य भएको छ।

पहिलो पटक स्थानीय तह निर्वाचनमा सहभागी भएको रास्वपाले अपेक्षा अनुसारको परिणाम निकाल्न सकेको छैन। रास्वपाले हालसम्म एउटा वडा अध्यक्ष पद जितेको छ। काठमाडौँ महानगरपालिका–१६ को वडा अध्यक्ष पदमा रास्वपाकी रोजिना श्रेष्ठ २ हजार ९०२ मतका साथ निर्वाचित भइन्।

तर, यसलाई हेरेर रास्वपाको सफलतामा खुसी हुने अवस्था छैन। यस वाहेक अन्य ११ स्थानका उम्मेदवारले ५० मत पनि कटाउन सकेनन्। रास्वपाका उम्मेदवारको सबैभन्दा लज्जास्पद हार महोत्तरीको रामगोपालपुर नगरपालिका–२ मा भएको छ।

वडाध्यक्ष उम्मेदवारी दिएका सुरसैद खाँले जम्मा ४ मत प्राप्त गरेका छन्। तिलगुफा नगरपालिका–४ का उम्मेदवार गगन बलले पनि जम्मा ५ मत प्राप्त गरे, रौतहटको ईशनाथ नगरपालिका–७ मा उम्मेदवार बनेका शेख असराजले जम्मा ६ मत प्राप्त गरे भने रुन्टीगढी गाउँपालिका–४ का उम्मेदवार हिमबहादुर पुनले जम्मा ७ मत पाए।

यसैगरी, सिरिजंघा गाउँपालिका–३ का रास्वपाका देवीप्रसाद पौडेलले ७ मत पाए भने उँदा धनुषाधाम नगरपालिका–१ का उम्मेदवार रामनरेश दासले जम्मा १० मत प्राप्त गरेका छन्। ठाकुरबाबा नगरपालिका–४ का रास्वपा उम्मेदवार बासुदेव शर्माले १७, पूर्वीचौकी गाउँपालिका–६ का उम्मेदवार जानकीकुमार खड्का (कुँवर) ले ३१ मत र गढी गाउँपालिका–६ का उम्मेदवार शशि कुमार साहुले ३३ मत पाए।

तेह्रथुमको लालीगुराँस नगरपालिका–८ का उम्मेदवार सन्जिव खड्काले ३८ मत, मुसिकोट नगरपालिका–१ का उम्मेदवार विकास थापाले ४३ मत प्राप्त गरेका छन्। सर्केगाड गाउँपालिकाको उपाध्यक्ष पदकी उम्मेदवारको अवस्था पनि दयनीय छ।

अन्य केही उम्मेदवारको अवस्था पनि इज्जत जोगाउनेमा मात्र सिमित छ। उनीहरुले ठिकठाक मत ल्याए पनि जित निकाल्न सकेनन्। ग्रामथान गाउँपालिका अध्यक्षका उम्मेदवार नविनकुमार विश्वास खवासले ३७५, भीमदत्त नगरपालिका–६ को वडा अध्यक्षका उम्मेदवार रामदत्त भट्टले २१८, त्रियुगा नगरपालिका–१२ को वडा अध्यक्षका उम्मेदवार ध्रुवप्रसाद पोखरेलले २०२ मत प्राप्त गरेका छन्।

नलगाड नगरपालिकाको उममेयरमा पार्वती पुनले १७९, मोलुङ गाउँपालिका–५ को वडा अध्यक्षमा विष्णु प्रसाद पोखरेलले १५१, महाबु गाउँपालिका अध्यक्षमा प्रकाश कुमार बुढाले ११२, शुद्धोधन गाउँपालिका–१ को वडा अध्यक्षमा अवधेश कुमार चौधरीले ९२ र हेटौंडा उपमहानगरपालिका–१२ को वडा अध्यक्षमा आशावीर बलले ८३ मत पाएका छन्।

यस्तै, ककनी गाउँपालिका–२ को वडा अध्यक्षमा मंगलसिद्धि लामा तामाङले ८३, गोरखा नगरपालिका–५ को वडा अध्यक्षमा मंगलबहादुर थापाले ८२ र दुल्लु नगरपालिका–१३ को वडा अध्यक्षमा रामबहादुर शाहीले जम्मा ५३ मत पाएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट