कन्काई ६ मा कांग्रेस छोडेर स्वतन्त्र उम्मेदवारी दिएका ओली निर्वाचित, एमाले विरासत खोसियो
दमक– झापाको कनकाई नगपालिका–६ को वडाध्यक्ष पद एमालेले गुमाएको छ। त्यहाँ स्वतन्त्र उम्मेदवार लक्ष्मीप्रसाद ओली निर्वाचित भएका छन्।
स्वतन्त्र उम्मेदवार ओली एमालेका तुलराम बस्नेतलाई १३७ मतान्तरले पराजित गर्दै वडाध्यक्षमा निर्वाचित भएका हुन्। ओलीले ४९३, एमालेका बस्नेतले ३५६ र काँग्रेसका रामगोपाल ओलीले ३१७ मत प्राप्त गरेका छन्।
यहाँ कुल २ हजार ५८ मतदाता रहेकोमा एक हजार ५१३ मत खसेको थियो। जसमा ८२४ पुरुष र ६८९ महिलाले मतदान गरेका थिए।
यो वडा यसअघि एमालेले जितेको थियो। निर्वाचित वडाध्यक्ष दीर्घबहादुर थापाको ६६ वर्षको उमेरमा गत असारमा निधन भएपछि उपनिर्वाचन भएको हो।
त्यसभन्दा अघि नेपाली काँग्रेसबाट लक्ष्मीप्रसाद ओली वडाध्यक्षमा निर्वाचित भएका थिए। अहिले ओली काँग्रेस छाडेर स्वतन्त्र उम्मेदवारी दिएर पुनः वडाध्यक्षमा निर्वाचित भएका हुन्।
प्रतिक्रिया