रविलाई भेट्न अधिकांश रास्वपा सांसद प्रहरी हिरासतमा पुग्दा किन गएनन् स्वर्णिम वाग्ले ?
काठमाडौँ– सहकारी ठगी आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने गत बिहीबारदेखि काठमाडौं प्रहरीको हिरासतमा छन्।
बिहीबार साँझ काठमाडौं ल्याइएका उनलाई जिल्ला सरकारी वकिल कार्यालयमा बयान दिन लाने र ल्याउने गरिएको छ। हिरासतमा उनलाई एक्लै राखिएको छ। प्रहरीले रविको पार्टीका सांसद र परिवारका सदस्यबाहेक अरूलाई भेट्न दिएको छैन।
भेट्न पुगेका सांसदहरूलाई पनि ७ देखि १० मिनेट समय दिइएको छ। रविलाई अहिलेसम्म सांसदहरू विराजभक्त श्रेष्ठ, डीपी अर्याल, हरि ढकाल र तोसिमा कार्कीले एक्लाएक्लै भेटेका छन्। तर, पार्टीका उपसभापति डा. स्वर्णिम वाग्ले भने उनलाई भेट्न पुगेका छैनन्।
उसो त केही समयअघि रास्वपाले गरेको काठमाडौँ केन्द्रित आन्दोलनमा पनि लामिछाने खासै सकृय भएनन्। ९ कात्तिकमा माइतीघर मण्डलामा भएको आन्दोलनमा रास्वपाका सबै नेताहरू सहभागि भएपनि वाग्ले सहभागि थिएनन्।
यसबारे जिज्ञासा राख्दा उनको सचिवालयले ‘विपक्षी दलहरूसँगको भेटमा व्यस्त हुनुहुन्थ्यो’ भन्ने जवाफ दिएको थियो। नेपाली कांग्रेसको पृष्ठभूमि भएका वाग्ले महत्वाकाक्षी नेता मानिन्छन्। यसअघि उनले एक अन्तर्वार्तामा आफू रास्वपामा नेतृत्व लिनेगरी नै अगाडि जाने अभिव्यक्ति दिएका थिए।
तर, आफू अनुसन्धानमा तानिएर प्रहरी हिरासतमा हुँदासमेत रवि लामिछानेले कार्यवाहक दिएका छैनन्। वैठकको नेतृत्व पनि अर्का उपाध्यक्ष डीपी अर्यालले गर्ने गरेका छन्। यो परिवेशमा वाग्ले लामिछानेलाई भेट्न नजानुलाई धेरैले अर्थपूर्ण रुपमा लिएका छन्।