काठमाडौँको सरकारी वकिल कार्यालयमा रविका १३ घण्टाः ६० वटा प्रश्नको सामना
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको काठमाडौँको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको वचत रकम अपचलन गरेको विषयमा सम्बन्धित रहेर ६० वटा प्रश्नको सामना गरेका छन्।
शुक्रबार र आईतबार गरी करिव १३ घण्टा भएको वयानका क्रममा उनीसँग ६० वटा प्रश्नको जवाल जवाफ भएको छ। जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा दुई दिन देखि जारी बयान लगभग सकिएको छ। भोली बयानको रुजु गरेर प्रमाणिकरण गरेपछि वयानको प्रकृया सकिने छ।
स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनमा अनुसन्धान गर्न लामिछानेलाई बिहिबार काठमाडौँ ल्याइएको थियो। उनले शुक्रबार करिब ६ घण्टा र आइतबार करिब ७ घण्टा निरन्तर बयान दिएका छन्।
अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार उनीविरुद्ध फेलापरेका प्रमाणलाई रविले नजरअन्दाज गर्दै इन्कारी बयान दिएका छन्। रविले आफू गोरखा मिडियामा प्रबन्ध निर्देशक भएपनि कामदारकै रूपमा रहेकाले सहकारीबाट पैसा आए÷नआएको बारेमा थाहा नभएको बयान दिएका छन्।
स्वर्णलक्ष्मीबाट आफू र जीबीको नाममा संयुक्त ऋण निकालेर गाडी खरिद गरेको सम्बन्धमा रबिले संस्थालाई चाहिने भएकाले सञ्चालक समितिबाट निर्णय गरेरै खरिद गरेको उल्लेख गरेका छन्। रविले संस्थाको अध्यक्ष जीबी राई भएकाले सहकारीको रकमका सम्बन्धमा उसैबाट असुल्नुपर्ने बयान दिएका छन्।
रवि जोडिएको गोरखा मिडियामा स्वर्णलक्ष्मीबाट २ करोड २८ लाख ९८ हजार ४ सय ८० रुपैयाँ पेश्कीबापत गएको देखिन्छ। स्वर्णलक्ष्मीबाटै गोरखा मिडिया नेटवर्कका तत्कालीन अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई र प्रबन्ध निर्देशक रविको संयुक्त नाममा दुईपटक ऋण लिएको देखिन्छ।
उनीहरूको संयुक्त नाममा २०७८ भदौ ७ गते ‘फर ह्वाट एभर लोन’बापत ४६ लाख ९८ हजार ऋण लिएकोमा अझै १४ लाख ७६ हजार ३ सय ६७ रुपैयाँ चुक्ता गर्न बाँकी छ। त्यस्तै, १ पुस ०७८ मा ईको सेभेन सोएट भ्यान खरिदका लागि जीबी र रविकै संयुक्त नाममा ४६ लाख ८८ हजार ऋण लिएको पाइएको छ। त्यसमध्ये पनि २९ लाख ५८ हजार ४३३ रुपैयाँ तिर्न बाँकी रहेको देखिन्छ।
लामिछानेलाई सहकारी ठगी आरोपमा अनुसन्धान गर्न २ कात्तिकमा काठमाडौँबाट पक्राउ गरी पोखरा लगिएको थियो। त्यसपछि उनीविरुद्ध संगठित अपराध र सम्पत्ति सुद्धिकरणमा समेत अनुसन्धान भईरहेको छ।
उनलाई कास्की जिल्ला अदालतले ५ पटक म्याद थप गरिसकेको छ। यो बिचमा उनीविरुद्ध रुपन्देही, चितवन र काठमाडौँबाट पनि पक्राउपुर्जी जारी भएको छ। उनलाई रुपन्देही लगेर बयान गराईसकिएको छ भने पोखरा लगेर चितवन लैजाने तयारी छ।