६ वर्षको प्रेमलाई विवाहमा परिणत गर्न खोज्दा घाँटी रेटेर किशोरीको हत्या, प्रेमीसहित ३ जना पक्राउ
राजविराज– ६ वर्षदेखि प्रेम सम्वन्धमा रहेका किशोरलाई विवाहको प्रश्ताव गर्दा धनुषामा एक किशोरीको हत्या भएको छ। ८ मंसिरमा बोरामा हालेर खोलामा फालिएको शवका विषयमा अनुशन्धान गर्ने क्रममा यो क्रुर घट्ना सार्वजनिक भएको हो।
प्रहरीका अनुसार मारिने किशोरी धनुषाको जनकनन्दिनी गाउँपालिका–५, उधाटोलकी १८ वर्षीया रेखाकुमारी मण्डल हुन। उनको हत्या आरोपमा जनकनन्दिनी गाउँपालिका–३ का २२ वर्षीय रामललित खत्वे मण्डल, २० वर्षीय ज्ञानेन्द्र दास र सहिदनगर नगरपालिका–८ नाथपट्टीका २४ वर्षीय रमेशकुमार मण्डल पक्राउ परेका छन्।
धनुषा प्रहरीका अनुसार रेखा रामललितकी प्रेमीका हुन। उनीहरु करिव ६ वर्षदेखि प्रेम सम्वन्धमा थिए। पछिल्लो समय रेखाले विवाहका लागि ललितलाई दबाब दिन थालेकी थिईन। सोही विषयमा विवाद भएपछि रेखाएको हत्या भएको खुलेको छ।
ललितले रेखालाई सुरुमा ढुंगाले अनुहारमा प्रहार गरेका थिए। ढुङ्गाको चोटले मुर्छित भएपछि घाँटी रेटेर हत्या गरेको प्रारम्भिक अनुशन्धानबाट खुलेको धनुषा प्रहरीका एसपी भुवनेश्वर तिवारीले जानकारी दिए।
हत्या भएपछि रेखाको शव प्लास्टिकको बोराभित्र हालेर जनकनन्दिनी गाउँपालिका–४ खजुरी र कमला नगरपालिका–२ सरावेको बीच सिमानामा रहेको आमाखोलामा फालेको वयानका क्रममा खुलेको छ।
एसपी तिवारीका अनुसार मृतकलाई घटनास्थलमा ल्याउन ज्ञानेन्द्र र रमेशकुमारले सहयोग गरेको पाईएपछि उनीहरु पनि पक्राउ परेका हुन। घाँटीमा धारिलो हतियार प्रहार भएको र दुबै हातखुट्टा बाँधेको अवस्थामा शव फेला परेपछि प्रहरीले अनुशन्धान सुरु गरेको थियो।
धान काट्न गएका किसानले शंकास्पद अवस्थामा बोरा देखेपछि प्रहरीलाई खबर गरेका थिए। इलाका प्रहरी कार्यालय खजुरीको टोली घटनास्थल पुगेर घट्नास्थलको मुचुल्का गरेको थियो। किशोरीको पहिचान पछि मात्रै भएको हो।