गौशालामा डेरा लिएर श्रृंखलावद्ध डकैती गर्दै आएका भारतीय दम्पत्तिसहित ६ जना पक्राउ
जनकपुर — महोत्तरीको गौशालामा डेरा लिएर श्रृंखलावद्ध लुटपाट र डकैती गर्दै आएका ४ जना भारतीय नागरिकसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरुले संगठित रुपमा हतियार देखाउँदै लुटपाट मच्चाउँदै आएका थिए।
भारतको बिहार राज्य अन्तर्गत सितामाढी शिवनगर फुलहटा घर भई गौशालामा डेरा लिएर बस्दै आएका ३० वर्षीय डाक्टर भन्ने प्रमोदकुमार साह, उनकी पत्नि सन्जुदेवी साह, सितामाढी जानकीनगरका ५२ वर्षीय रनधिर साह, सितामाढी विष्णुपुरका सुधिर भण्डारी, महोत्तरीको गौशाला–९ बिसहरपुरका २८ वर्षीय ललन साह र गौशाला–६ फुलकाहाका २६ वर्षीय राकेश कुमार यादव पक्राउ परेका हुन।
पक्राउ परेका मध्ये २ जनालाई नेपालमै र ४ जनालाई भारतमा पक्राउ गरिएको हो। प्रहरीले लुटेराहरुबाट विभिन्न स्थानबाट लुटपाट भएको मोबाइल, गहना लगायतका समानसमेत बरामद गरेको छ।
उनीहरुले महोत्तरीको औरही, गौशालाको निगौल, बटौवा, इमली बजार, रजखोर लगायतका क्षेत्रमा हातहतियार देखाएर लुटपाट गरेका थिए। उनीहरु विरुद्ध प्रहरीले हातहतियार तथा खरखजनाना, चोरी÷डाका (लुटपाट) र संगठित अपराध मुद्दा दर्ता गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी सन्तुलाल प्रसाद जैसवारले बताए।