रविका विषयमा रास्वपाका सचेतकलाई प्रधानमन्त्रीको जवाफः प्रहरीको अनुसन्धान प्रभावित पार्ने काम मबाट हुँदैन
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको हिरासत बसाई प्रहरीले लम्ब्याएको र मिडिया ट्रायल मार्फत खुईल्याउन खोजेको विषयमा पार्टीका प्रमुख सचेतक सन्तोष परियार र प्रधानमन्त्री केपी शर्मा ओलीबीच सवाल–जवाफ भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न मंगलबार सिंहदरबार पुगेका परियारले सभापति लामिछानेसँग सम्वन्धित सबै मुद्दा छिटो अदालत पु¥याउन आग्रह गर्दै प्रहरीले हिरासत बसाई लम्ब्याएको र अनुसन्धान गर्ने भन्दै एकपछि अर्को जिल्ला घुमाएको विषयमा गुनासो गरेका थिए।
परियारले ओलीसँग भनेको कुरालाई उद्धृत गर्दै स्रोतले भन्यो–‘सभापति ज्युलाई कस्टडीमा राख्नुभएको छ। अदालतमा बुझाउने हो कि लामो समय हिरासतमा मात्रै राख्ने हो?’ जवाफमा प्रधानमन्त्री ओलीले प्रहरीले अनुसन्धान गरिरहेको विषयमा आफुले हस्तक्षेप नगर्ने बताएका थिए।
प्रहरी अनुसन्धान प्रभावित पार्ने काम आफूबाट नहुने र प्रहरीले निश्चित समयमा मुद्दा अदालतमा लैजाने भएकाले यो प्रक्रियाप्रति फरक मत राख्नुपर्ने आवश्यकता नरहेको उनले बताएका थिए। प्रधानमन्त्री ओलीको कुरामा प्रतिवाद गर्दै परियारले अनुसन्धान लम्ब्याउने र सभापतिविरुद्ध माहोल सिर्जना गर्ने गरी प्रमाण भन्दै मिडिया ट्रायल गर्ने कार्य प्रहरीबाट भइरहेको बताएका थिए। उनले जतिसक्दो छिटो मुद्दा अदालतमा लैजाने वातावरणका लागि भूमिका खेलिदिन आग्रह गरेका थिए।
सहकारीको रकम हिनामिना प्रकरणमा रास्वपा सभापति लामिछाने विरुद्ध अहिले संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दाको कसुरमा समेत अनुसन्धान भइरहेको छ। लामिछानेलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले गत २ कात्तिकमा बनस्थलीस्थित पार्टी कार्यालयबाटै पक्राउ गरेको थियो।
उनीविरुद्ध रुपन्देही, काठमाडौं र चितवनबाट पनि पक्राउ पुर्जी जारी भएको छ। रुपन्देही लगेर उनको बयान लिइएको छ भने काठमाडौं पनि ल्याउने तयारी छ।