सर्वोच्चको बोर्डमा कालो पोतेको आरापमा घरेलु हिंसा पीडित बिनु पक्राउ
काठमाडौँ– घरेलु हिंसामा न्याय नपाएको भन्दै सर्वोच्च अदालत परिसरमै विष सेवन गरेकी बिनु यादव मंगलबार अदालतको बोर्डमा कालो पोतेको आरोपमा पक्राउ परेकी छिन्।
सर्वोच्चको मुल गेट नजिकको बोर्डमा कालो रङ छ्यापेको आरोपमा बिनुलाई प्रहरीले पक्राउ गरेको हो। पठाओमा आएर सर्वोच्चको बोर्डमा उनले कालो छ्यापेको प्रहरीले जनाएको छ।
यादवले आफू घरेलु हिंसा पीडित भएको बताउँदै आएकी छन् भने उनीसँग विवाह गरेका रामेछापका युवकले सम्बन्ध बिच्छेदको मुद्दा दर्ता गराएका थिए। अदालतले सम्बन्ध बिच्छेदको फैसला सुनाएपछि उनले अदालत परिसरमै विष सेवन गरेकी थिइन्।
यसअघि आमरण अनशन पनि बसेकी उनले सरकारसँग पाँच बुँदे सहमति भएपछि अनशन तोडेकी थिईन। तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठले ०८० जेठमा जुस पिलाएर उनलाई अनशन तोडाएका थिए।
सरकारसँग भएको पाँच बुँदे सहमतिमा उनले दिएको मुद्दामा आवश्यक कारबाही अगाडि बढाउने र उनको जिवीकोपार्जनका लागि सहयोग गर्ने उल्लेख थियो।