सिरहाको कर्जन्हाका पूर्वमेयरसहित ५ जनालाई भ्रष्टाचार मुद्दामा जनहरी साढे दुई वर्ष कैद
लहान— सिरहाको कर्जन्हा नगरपालिकाका तत्कालीन मेयर गंगा पासमानसहित ५ जनालाई जनही २ वर्ष ६ महिना कैद र ४३ लाख २० हजार रुपैयाँ जरिवाना सजाय भएको छ।
अख्तियार दुरुपयोग अनुशन्धान आयोगले दायर गरेको भ्रष्टाचार मुद्दामा विशेष अदालतले गत २८ कात्तिकमा पूर्वमेयर पासमानसहित तत्कालीन २ प्रशासकीय अधिकृत, १ लेखापाल र एक ठेकेदारलाई दोषी प्रमाणित गरेको थियो। सोही मुद्दामा सोमबार सजाय निर्धारण गरिएको हो।
पूर्वमेयर पासवानसँगै तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत जगदीश मण्डल, बुद्धिमान दनुवार, लेखापाल प्रवीनकुमार महतो र निर्माण व्यवसायी वैजनाथ यादवले भ्रष्टाचार गरेको विशेष अदालतले ठहर गरेको छ। उनीहरुलाई जनही साढे २ वर्ष कैद र २१ लाख ६० हजार रूपैयाँ बिगो र त्यति नै रकम जरिवाना गरी ४३ लाख २० हजारका दरले रकम भराउने फैसला भएको विशेष अदालतले जनाएको छ।
नगरपालिकाको प्रशासनिक भवन निर्माणका नाममा कामै नगरी अनियमितता गरेको अभियोगसहित आयोगले गत वर्षको १४ चैतमा उनीहरु विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो। उनीहरूले उक्त भवन निर्माणका नाममा १ करोड ८ लाख रुपैयाँ अनियमितता गरेको दाबी अख्तियारको थियो।
सो मुद्दामा २८ कात्तिकमा न्यायाधीशहरू खुसीप्रसाद थारू, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले उनीहरूलाई दोषी ठहर गरेर सजाय निर्धारणका लागि सोमबारको पेशी तोकेको थियो।
विशेष अदालतले भ्रष्टाचारी ठहर गरेपछि पूर्वमेयर पासवानले उजुरी दिने कर्जन्हा–३ बन्दीपुरका ओमप्रकाश महतो (४४)लाई कुटपिट गरेका थिए। बेलुकापख कर्जन्हा बजारस्थित चिया पसलमा बसिरहेका बेला पासवानले आफुलाई बाँसको भाटाले आक्रमण गरेको महतोले बताएका थिए।
यो पनि,