मानव तस्करीको आरोप लागेका पूर्वमन्त्री अधिकारी विरुद्ध मुद्दा नचलाउने सरकारी वकिलको निर्णय
काठमाडौँ– मानव तस्करीको आरोप लागेका कोशी प्रदेशका तत्कालीन आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीविरुद्ध मुद्दा नचल्ने भएको छ।
मुद्दा चलाउनलाई पर्याप्त आधार र प्रमाण नदेखिएको उल्लेख गर्दै जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले अधिकारीविरुद्ध मुद्दा नचलाउने निर्णय गरेको हो। काठमाडौंका जिल्ला न्यायाधीवक्ता सीताराम अर्यालले अधिकारी बाहेक मुद्दामा प्रतिबादी बनाइएका अन्य ११ जनाविरुद्ध भने मुद्दा चल्ने जानकारी दिए।
प्रहरीले अनुसन्धान सकेर मिसिल (अनुसन्धान प्रतिवेदन) बुझाएपछि सरकारी वकिल कार्यालयले सोमबार जिल्ला अदालत काठमाडौंमा अभियोग पत्र दायर गरेको छ। अभियुक्त ११ मध्ये ३ जना अझैसम्म फरार छन्।
मन्त्रिपरिषदको निर्णय विना र शीर्ष नेताहरुको सुझाव विपरित जापान भ्रमणमा गएका अधिकारी मानव तस्करीको विषय सार्वजनिक भएपछि विवादमा परेका थिए। उनले भ्रमणकै क्रममा असम्बन्धित व्यक्तिहरु पनि आफूसँगै जान लागेको भन्दै कोशी प्रदेश प्रहरीका डीआईजी चन्द्रकुवेर खापुङ र नेपाल प्रहरीको विशेष ब्युरोका डीआईजी राजन अधिकारीलाई जानकारी गराएका थिए।
डीआईजीद्ववयलाई दिएको जानकारी तथा अधिकारी आफैंले अध्यागमनलाई जानकारी गराएर आफुसँगै गएका ३ जनालाई फिर्ता ल्याएको पाईएपछि उनलाई मुद्दा नचलाउने निर्णय भएको स्रोतले बतायो। उनले मानव तस्करको गिरोहले आफूसँगै ३ जनालाई गैरकानुनी हिसाबले पठाउन खोजेपछि जापानको कार्यक्रममा सहभागी नभइकन आफू नेपाल फर्किएको बयान दिएका थिए।
सुरुमा, गैरकानुनी हिसाबले जापान प्रवेश गर्न खोजेको भन्दै त्यहाँको अध्यागमनले मन्त्री अधिकारीसहित ४ जनालाई ‘डिपोर्ट’ गरेर नेपाल फिर्ता पठाएको कुरा बाहिर आएको थियो। तर, अनुसन्धानबाट अधिकारीले नै ३ जनालाई ‘डिपोर्ट’ गराएको खुलेको अर्यालले बताए।
जापानको टोकियो महानगर र आर्ट काउन्सिल टोकियोले आयोजना गरेको एक कार्यक्रममा सहभागी हुन भन्दै ११ कात्तिकमा क्याथे प्यासिफिकको उडानमार्फत जापान उडेका मन्त्रि अधिकारीसँगै खोटाङको केपिलासलगढी गाउँपालिका–४ का ४१ वर्षीय जनक राई, खोटाङको ऐँसेलुखर्क गाउँपालिका–२ का ३७ वर्षीय दावा शेर्पा र रसुवाको कालिका गाउँपालिका–५ का २१ वर्षीय कञ्चन देवकोटा जापान पुगेका थिए।
१४ कात्तिकमा नेपाल फर्किएपछि तीनै जनालाई प्रहरीले विमानस्थलबाटै पक्राउ गरेको थियो भने मन्त्री अधिकारी २५ कात्तिकमा विराटनगरस्थित निवासबाट पक्राउ परे। पछि नुवाकोटका २२ वर्षीय जुगल रिजाल, दोलखाका ३० वर्षीय वीरबहादुर सुनुवार र धादिङको त्रिपुरा सुन्दरीका ३४ वर्षीय महेश पाण्डेसमेत पक्राउ परे।
पक्राउ पर्नेमध्ये शेर्पाका भाइ जापानमा बस्छन्। नेपालमा ट्रेकिङको काम गर्ने शेर्पाका भाइले दोलखाका वीरबहादुरलाई चिनेका थिए। त्यही चिनजानका कारण जापान जान शेर्पाले वीरबहादुरको बैंक खातामा ११ लाख ५५ हजार ‘डिपोजिट’ गरिदिएको र देवकोटाले १० लाख बुझाएको अनुशन्धानबाट खुलेको छ।
जापानबाट फिर्ता भएका शेर्पाको साथबाट खोटाङस्थित ऐँसेलुखर्क गाउँपालिका–२ को वडा सदस्यको परिचयपत्र र देवकोटा तथा राईको साथबाट कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको ‘सहायक’ कर्मचारीको नक्कली परिचयपत्र फेला परेको थियो।
अधिकारी नेकपा (एमाले)का तर्फबाट मोरङको निर्वाचन क्षेत्र नम्बर २ को ‘ख’बाट प्रदेशसभा सदस्य निर्वाचित भएका थिए। उनले मन्त्री पदबाट राजीनामा दिए भने एमालेले उनलाई सबै जिम्मेवारीबाट मुक्त गरेको थियो।