उदाहरणीय टोलविकास संस्था बन्दै काव्यवाटिका

इटहरी ५ पचरुखीस्थित काव्यवाटिका टोलविकास संस्था उदाहरणीय बन्दै गएको छ । आफ्नो समुदायको सर्वाङ्गीण विकासमा उक्त संस्थाले विविध रचनात्मक काम गर्दै आएको छ ।

सुनसरीको इटहरी ५ मा रहेको काव्यवाटिका स्थानीय समुदायको पहलमा २०७९ सालमा दर्ता भई सञ्चालनमा आएको थियो । जम्मा ७२ घरधुरीमध्ये ६८ जनाले सदस्यता लिइसकेको र बाँकीले लिने क्रममा रहेको संस्थाका सचिव महेश धितालले बताए ।

संस्थाले गत शनिबार साधारणसभा कार्यक्रम सम्पन्न गरेको छ । वडा नं. ५ का जनप्रतिनिधि गोपाल गिरीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । इटहरी उपमहानगरपालिकाका कानुनी सल्लाहकार वीरेन्द्रप्रसाद गौतम, बालग्राम प्रहरी चौकीका प्रमुख सोमनाथ ढुङ्गानालगायत विभिन्न टोलविकास संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो ।

 

बालग्राम प्रहरी चौकीका प्रमुख सोमनाथ ढुङ्गानाले कार्यक्रममा बोल्दै स्थानीय युवा तथा किशोरकिशोरीहरू दुव्र्यसनीको शिकार भइरहेकामा सजग गराउँदै समुदाय र प्रहरी मिलेर यस्था बेथितिविरुद्ध काम गर्नुपर्ने बताएका छन् । त्यस्तै इटहरी उपमहानगरका कानुनी सल्लाहकार वीरेन्द्रप्रसाद गौतमले टोलविकास संस्थाका समस्याहरूका विषयमा चर्चा गर्दै समुदाय र स्थानीय पालिकाको समन्वय हुनसके राम्रोसँग विकासनिर्माणका काममा हातमालो गर्न सकिने बताए ।

कार्यक्रममा प्रमुख अतिथि गोपाल गिरीले वडा र टोलविकास संस्थाको सम्बन्धका विषयमा चर्चा गर्दै आफ्नो जनताको पैसा जनतालाई नै भन्ने नारासहित एक महिनाको भत्ताबापतको पैसा टोलविकासको सामाजिक कामका लागि दिने बताए । अन्य महिनाका भत्ता पनि जनताकै काममा खर्च गर्ने प्रतिबद्धतासहित शुभकामना मन्तव्य प्रस्तुत गरेका थिए ।

 

कार्यक्रममा ७० वर्ष माथिका सातजना जेष्ठ नागरिकलाई सम्मानका साथै टोलविकासबाट कक्षा १२ उत्तीर्ण गर्ने एक जनालाई सम्मान गरिएको थियो । उक्त कार्यक्रममा अध्यक्ष र कोषाध्यक्षको प्रतिवेदन पास गरिएको थियो भने आउँदो वर्षबाट नगरस्तरीय काव्यवाटिकाको नाम झल्काउने प्रतियोगितात्मक तथा साहित्यिक कार्यक्रम पनि गर्ने निर्णय भएको संस्थाका अध्यक्ष हरिराज श्रेष्ठले बताए ।
इटहरी उपमहानगरपालिकाभित्र काव्यवाटिका टोलविकास संस्था परिचित बन्दै गएको छ ।

 

 

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट