दुर्गा प्रसाईको गाडीको ठक्करबाट फुलेश्वरको मृत्यु, आफन्तको आक्रोशमा पर्यो अस्पताल

इनरुवा– प्रहरी हिरासतमा रहेका मेडिकल ब्यवसायी दुर्गा प्रसाईंको गाडीको ठक्करबाट एक जनाको मुत्यु भएपछि सुनसरीको भोक्राहामा तनाव उत्पन्न भएको छ। आफन्त र स्थानीयले सप्तकोशी न्यूरो अस्पतालको लापर्वाहीका कारण घाईतेको मृत्यु भएको आरोप लगाएका छन्।

उनीहरुले शनिवार भोक्राहा नरसिंह गाउँपालिका–४ स्थित उक्त अस्पताल अगाडि प्रदर्शन पनि गरे। मृतकको शव एम्बुलेन्समा राखेर विरोध प्रदर्शन सुरु गरेपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको थियो। स्थानीय प्रशासनले पीडित पक्षसँग वार्ता गरेर साँझमा राजमार्ग भने सञ्चालनमा ल्याएको छ। तर, अस्पतालसँगको असमझदारी सकिएको छैन।

प्रहरीका अनुसार २५ कात्तिकमा कोशी ब्यारेजतिर जाँदै गरेको दुर्गा प्रसाईं सवार बागमती प्रदेश ०१–०२८ च ०२०१ नम्बरको गाडीले कोशी गाउँपालिका–३, नहर चोकमा २ वटा मोटरसाइकललाई ठक्कर दिएको थियो।

गाडीको ठक्करबाट मोटरसाईकलमा रहेका २ जना घाइते भएका थिए। घाईते मध्ये कोशी–३ का ६० वर्षिय फुलेश्वर मेहताको शुक्रबार उपचारका क्रममा मृत्यु भएको हो। दुर्घटनामा दाहिने खुट्टा र हातमा चोट लागेका उनलाई भोक्राहा नरसिंह–४ स्थित सप्तकोशी न्यूरो अस्पतालमा भर्ना गरिएको थियो।

सामान्य अवस्थामा रहेका फुलेश्वरलाई अप्रेसन कक्षमा लगेपछि स्वास्थ्य अवस्था विग्रिएको थियो। सप्तकोशी न्यूरोले बेहोस गराउने ओैषधीको मात्रा बढी चलाउँदा बिरामीको अवस्था गम्भीर भएको र सोही कारण मृत्यु भएको मृतकका आफन्तको दावी छ।

अवस्था गम्भीर भएपछि सप्तकोशी न्युरोले फुलेश्वरलाई थप उपचारका लागि विराटनगरको नोबेल अस्पताल पठाएको थियो। सोही अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

मृतकका आफन्तले घटनाको छानबिन गर्न माग गर्दै प्रहरीमा उजुरी दिएका छन्। अस्पतालले भने आफनो कमजोरी अस्विकार गरेको छ। हात, खुट्टा र टाउकोमा चोट लागेका घाईतेको आवश्यक उपचार पछि नोबेल अस्पताल पठाइएको जनाउँदै उपचारमा कुनै लापरबाही नभएको अस्पतालले स्पष्ट पारेको छ।

पोष्टमाटम रिपोर्टले सबै आशंका हट्ने अस्पताल प्रशासनको दावी छ। प्रहरीले दुर्घटनामा संलग्न गाडीका चालकलाई पक्राउ गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट