रवि लामिछाने हिरासतमै हुँदा रास्वपाका झापा उपसभापति पनि किर्ते प्रकरणमा तानिए, तीन जनाको मिलेमतो
दमक– पार्टीका सभापति रवि लामिछाने सहकारी ठगीको आरोपमा प्रहरी हिरासतमा रहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टीकै झापा उपसभापति प्रकाश पाठकसहित ३ जनाले किर्ते गरेर एउटा सिचाई आयोजनाको साढे १७ लाख रुपैयाँ ब्यक्तिगत प्रयोजनमा खर्च गरेको फेला परेको छ।
झापाको बाह्रदशी र हल्दिबारीको करिव ६७५ हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याउने उदेश्यले सञ्चालनमा रहेको ‘अदुवा खोला सिँचाइ आयोजना’ को १७ लाख ५४ हजार रुपैयाँ आयोजनाका अध्यक्ष बृखबहादुर थापा (दिनेश), आयोजनाका सचिवसमेत रहेका पाठक र कोषाध्यक्ष लोकनाथ ओलीको मिलेमतोमा निकालेर खर्च गरेको फेला परेको हो।
गत ४ जेठ ०८१ मा आयोजनाको धरौटी खातामा रहेको पैसा निकाल्ने प्रयोजनका लागि समितिको वैठक बसेको थियो। निर्णय पुस्तिकामा कार्यसमितिका १३ मध्ये अध्यक्ष थापा, सचिव पाठक, कोषाध्यक्ष ओली, सदस्यहरु कोपिला पौडेल, देवराज ताजपुरिया, इन्द्रकला दाहाल, मानबहादुर थापा, बालमाया कार्कीलगायत १० जनाको हस्ताक्षर छ।
अध्यक्ष, सचिव र कोषाध्यक्ष बाहेक अन्य सदस्यले वैठकको निर्णयमा आफुहरुले हस्ताक्षर नगरेको दाबी गरेका छन्। तर, सोही वैठकको निर्णयका आधारमा धरौटी खाताको साढे १७ लाख रुपैयाँ निकासा लिएर खर्च गरेको देखिएको छ।
जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय भद्रपुरले पनि रकम निकासा लिईएको छ। किर्ते हस्ताक्षर गरी रकम निकालिएको कुरा अध्यक्ष र सचिव दुवैले स्विकार गरेका छन्। तर, त्यो रकम मध्ये आफुले १० लाख ५४ हजार मात्र चलाएको अध्यक्ष थापाले बताए। तीनैजनाले पैसा चलाएको उनको भनाई छ।
अध्यक्ष थापाका अनुसार पाठकले भाइलाई अष्ट्रेलिया पठाउँदा ५ लाख रुपैयाँ चलाएका थिए। पाठकले भने किर्ते गरेर रकम निकाले पनि आफुले नचलाएको दावी गरेका छन्। सवै पैसा अध्यक्ष थापाले नै चलाएको उनको भनाई छ। स्रोतका अनुसार चेक पाठककै नाममा काटिएको छ। पाठकले उक्त पैसा अहिले खातामा जम्मा भईसकेको वताए।
पूर्वअध्यक्षले पत्ता लगाए किर्ते प्रकरण
आयोजनाका पूर्व अध्यक्ष रत्नबहादुर अधिकारीले किर्ते प्रकरण पत्ता लगाएका हुन। कार्यसमिति सदस्य कोपिला पौडेलको हस्ताक्षरका कारण यो प्रकरण खुलेको हो। कहिलै अंग्रेजीमा हस्ताक्षर नगर्ने पौडेलेको हस्ताक्षर अंग्रेजीमा देखिएपछि सोधपुछ गर्दा अध्यक्ष, सचिव र कोषाध्यक्ष वाहेक सवैको हस्ताक्षर किर्ते फेला परेको उनले जानकारी दिए।
उपाध्यक्ष रोमनाथ दाहालले कीर्ते हस्ताक्षर गर्ने र अपचलन गरी लाखौं रूपैयाँ चलाउनेहरूलाई कानूनी कारबाही हुनुपर्ने माग गरेका छन्।