१२ वर्ष जनयुद्ध लडेका प्रचण्डलाई प्रधानमन्त्री ओलीले दिए ‘कायर’को संज्ञा
काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले १२ वर्ष जनयुद्ध लडेका पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाललाई कायरको संज्ञा दिएका छन्। भारत नगई पहिले चीन भ्रमण गरेर अपरिपक्व काम गर्न लागेको भन्दै टिप्पणी गरेका दाहाललाई ओलीले ‘वाहियात’ र ‘कायर’ भनेका हुन।
काठमाडौंको दरबारमार्गमा शुक्रबार एमालेको आयोजना गरेको जनजागरण सभामा सम्बोधन गर्दै ओलीले ‘पहिले कहाँ जानुपथ्र्यो भन्ने कहाँ लेखको छ ?’ भन्दै प्रश्न गरे। ‘कतिले के–के न व्यवसाय भेट्टाए जसो गरेर पहिले कता जानुपर्ने कता गयो, अपरिपक्व भयो भन्छन् । कस्तो हुन्छ परिपक्व भनेको ? पहिले कता जानुपर्ने ? धर्मशास्त्रमा लेखेको छ कि ? संविधानमा लेखेको छ कि ? संयुक्तराष्ट्रसंघको बडापत्रमा लेखेको छ ? कहाँ चाहि परिपक्वता भेट्नुभयो?’ उनले भने–‘यी वाहियात र कायर कुरा हुन्। हामी सबै छिमेकीहरूलाई पारस्परिक लाभ र समान सम्बन्धहरू। पारिस्परिक सम्मानका आधारमा व्यवहार गर्छौं र सम्बन्ध राख्छौं।’
केही दिनअघि दाहालले भारतीय पत्रिका हिन्दूलाई अन्तर्वार्ता दिँदै चाइना कार्ड खेल्नका लागि ओली भारत नगइ चीन भ्रमणमा जान लागेको बताएका थिए। त्यस विरुद्ध एमालेले अंग्रेजी भाषमा विज्ञप्ति निकालेर कडा शब्दमा खण्डन गरेको थियो।
प्रधानमन्त्री ओलीले छिमेक सम्बन्धलाई अत्यन्तै सन्तुलित सम्बन्धको रूपमा अघि बढाउने प्रतिबद्धता जनाए। उनले भने–‘ हाम्रो भौगोलिक अखण्डताको रक्षा गर्दै हाम्रो सार्वभौमसत्ता र स्वाधीनतालाई रक्षा गर्दै राष्ट्रिय हितको रक्षा गर्दै छिमे सम्बन्धलाई अझै सुदृढ बनाउँछौं। हाम्रो कसैप्रति वैरभाव छैन। छैन कोही शत्रु।’
उनले १७ गतेबाट हुने आफ्नो भ्रमण सफल हुने बताए।