वीरगन्जबाट पोखरा जाँदै गरेको बस हेटौँडामा दुर्घटना, १७ जना घाइते
हेटौंडा– वीरगन्जबाट पोखरातर्फ जाँदै बस पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५ स्थित चुरियामाई मन्दिरनजिक दुर्घटना भएको छ। दुर्घटनामा १७ जना घाइते भएका छन्।
आज बिहान १० बजे ग२ख १६२१ नम्बरको बस ब्रेक फेल भई सडक छेउको खोल्सामा पल्टिएको हो। दुर्घटनामा घाइतमध्ये बाराको पर्सैनी गाउँपालिकाकी ९ वर्षीया जोनीशा कुमारी ठाकुरको अवस्था गम्भीर छ। उनको टाउकोमा गम्भीर चोट लागेको छ।
अन्य १६ जना घाइतेमध्ये १४ जनाको अवस्था मध्यम र २ जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। घाइतेहरू ३ देखि ५२ वर्षसम्मका छन्। घाइतेहरू बारा, पर्सा, चितवन, कैलाली र स्याङ्जाका रहेको प्रहरीको भनाई छ। जसमा ४ जना भारतीय नागरिक पनि छन्।
घाइते सवैको हेटौँडा अस्पतालमा उपचार भईरहेको छ। प्रहरीका अनुसार बसमा १८ जना यात्रु सवार रहेकोमा चालकसहित १७ जना घाइते भएका हुन्।