उर्लाबारीमा २ मोटरसाईकल ठोक्किएर भएको दुर्घटनामा मृतकको संख्या ३ पुग्यो
विराटनगर– मोरङको उर्लाबारीमा विहिबार दुई मोटरसाईकल आपसमा ठोक्किएर भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुगेको छ।
झापाको विर्तामोड स्थित बीएण्डसी अस्पतालमा उपचाररत मोरङको कानेपोखरी गाउँपालिका –४ का २८ वर्षीय अमृत लिम्बूको मृत्यु भएसँगै मृतकको संख्या ३ पुगेको हो। यसअघि मोरङकै पथरीशनिश्चरे नगरपालिका–५ का ४२ वर्षीय दीपक धिमाल र कानेपोखरी –४ रमाइलोका २८ वर्षीय किशोर गुरुङको मृत्यु भएको थियो।
उर्लाबारी नगरपालिका–३ नयाँ मंगलबारेमा भएको दुर्घटनापछि धिमाललाई उर्लाबारीकै अरनिको अस्पताल, गुरुङलाई मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर र लिम्बुलाई झापाको बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा लगिएको थियो। धिमाल र गुरुङको अस्पताल पुर्याउनसाथ मृत्यु भएको थियो। लिम्बूको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
पूर्व जाँदै गरेको प्रदेश १–०२–०५० प ८४०६ नम्बरको मोटरसाइकलले अगाडि रहेको सवारीलाई ओभरटेक गर्न खोज्दा विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १–०२–०४३ प ९२२६ नम्बरको मोटरसाइकल ठक्कर दिएपछि दुर्घटना भएको थियो।
दुर्घटनामा परेका २ मोटरसाइकलमा चार जना सवार थिए। घाईते रहेका पथरीशनिश्चरे–५ का ३० वर्षीय विष्णु धिमालको गम्भिर अवस्थामा बीएन्डसी अस्पतालमा उपचार भइरहेको मोरङ प्रहरीले जनाएको छ।