कीर्तिमानी क्यानडियन क्रिकेटर साद बिन जफर एनपीएलका लागि लुम्बिनी लायन्समा आवद्ध
काठमाडौँ– नेपाल प्रिमियर लिग २०२४ मा क्यानडियन किर्तिमानी क्रिकेट आइकन साद बिन जफर लुम्बिनी लायन्सबाट खेल्ने भएका छन्। उनले सन २०२४ को टी–२० विश्वकपमा क्यानडाको कप्तानी गरेका थिए।
आफ्नो अन्तर्राष्ट्रिय अनुभव र नेतृत्व क्षमतासहित लुम्बिनी लायन्सलाई थप मजबुत बनाउने विश्वाससहित लुम्बिनी लायन्सले जफरलाई आबद्ध गरेको छ। लुम्बिनी लायन्समा आबद्ध भएपछि जफरले उत्साह ब्यक्त गरेका छन्।
एनपीएल १५ मंसिरदेखि सुरु हुँदैछ। लुम्बिनी लायन्सले १९ मंसिरमा विराटनगर किङ्सको सामना गर्नेछ। पाकिस्तानमा जन्मिएका जफरले सन २००८ मा क्यानडाको फस्ट क्लास क्रिकेटमा डेब्यु गरेका थिए।
बायाँ हाते स्लो स्पिन र बायाँ हाते ब्याट्सम्यान उनले क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा सेन्ट लुसिया जोक्सको तर्फबाट खेल्दै अन्तर्राष्ट्रिय स्तरमा आफ्नो प्रतिभा देखाएका थिए। टी–२० अन्तर्राष्ट्रिय खेलमा ४ ओभरको बलिङ स्पेलमा एक रन पनि नदिई कीर्तिमान बनाउने उनी पहिलो खेलाडी हुन्।
नोभेम्बर २०२१ मा भएको पनामा विरुद्धको उक्त खेलमा उनले ४ ओभरमा २ विकेट लिएर ४–४–०–२ को कीर्तिमानी प्रदर्शन गरेका थिए। त्यो रेकेर्ड अहिले पनि कायम छ।