साढे ३२ अर्ब लगानी रहेको भनिएको देश कम्बोडियामा ओलीले किन पठाए विश्वास पात्र ?

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध मुलकको साढे ३२ अर्ब रुपैयाँ कम्बोडियाको टेलिकममा लगानी गरेको आरोप लागिरहेका बेला उनका विश्वास पात्र मानिने नेकपा एमालेका नेताहरु उतै पुगेका छन्।

आरोपकै बीचमा एमाले नेता कम्बोडिया जानुले सर्वसाधारणमा रहेको ओलीप्रतिको आशंकालाई थप मलजल गरेको छ। विदेश विभाग प्रमुख रघुवीर महासेठ, बागमती प्रदेश इञ्चार्ज डा. राजन भट्टराईसहितका नेताहरु बुधबार साँझ कम्बोडियाका लागि उडेका हुन।

कम्बोडिया पुगेका नेता भट्टराई एमालेले बिहिबार काठमाडौँमा गर्न लागेको ‘जागरण सभा’ आयोजक समितिका संयोजक हुन। प्रदर्शन र सभाको संयोजनमा महत्वपूर्ण भूमिका हुने भएकै कारण उनलाई संयोजकको जिम्मेवारी दिईएको हो।

तर, जागरण सभालाई प्रभावकारी बनाउन गठित संयोजन समितिको संयोजक नै कम्बोडिया पुग्नुले पनि ‘दालमे कुछ काला है’ भन्ने अवस्था सृजना गरेको कतिपयको भनाई छ। तर, उनी लगायत ८ राजनीतिक दलका १३ जना नेपाली नेताहरु अहिले कम्बोडियामा छन्।

उनीहरु एसियाली राजनीति पार्टीहरूको अन्तर्राष्ट्रिय सम्मेलन (आइक्याप) को १२औँ अधिवेशनमा सहभागी हुन कम्बोडिया गएको जनाईएको छ। जहाँ ३१ देशका ५४ राजनीतिक दलहरूबाट करिब २ सय नेताहरू सहभागी हुनेछन्। सम्मेलन नोभेम्बर २१ बाट सुरु भएर नोभेम्बर २३ मा समापन हुने छ। भट्टराईले फेसवुक मार्फत आफु पार्टी स्थायी कमिटी सदस्यको हैसियतमा सम्मेलनमा भाग लिन आएको जानकारी पनि दिएका छन्। तर, उनको यो भनाईले नागरिकमा पैदा भएको संशयलाई भने कम गरेको छैन।

यता, ओलीमाथि आरोप लगाउन सार्वजनिक गरिएका डकुमेण्ट पनि फेक भएको भन्दै विवादित मेडिकल ब्यवसायी दुर्गा प्रसाईँलाई पक्राउ गरिसकेको छ। आफूलाई व्यवस्थाविरोधी अभियन्ता बताउने प्रसाईँले नै केही दिनअघि कम्बोडियामा प्रधानमन्त्री ओलीको लगानी रहेको दाबी गर्दै ‘डिजिटल डकुमेन्ट’ सार्वजनिक गरेका थिए।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का एसपी होविन्द्र बोगटीले प्रसाईले वाहिर ल्याएका डकुमेन्ट फेक भएको बताउँदै त्यो कार्यमा संलग्नहरुको खोजी भईरहेको बताएका छन्। प्रसाईँमाथि भने विद्युतीय कारोबार, किर्ते कागजात र मानहानीको मुद्धामा अनुसन्धान भैरहेको जनाईएको छ।

एसियाली राजनीति पार्टीहरूको अन्तर्राष्ट्रिय सम्मेलन (आइक्याप) को १२औँ अधिवेशनमा सहभागी हुन गएका नेताहरु

आइक्यापको १२औँ अधिवेशनमा सहभागी हुन गएको जानकारीसहितको एमाले नेता राजन भट्टराईको फेसबुक स्ट्याटस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट