पैसा कम भयो ? सप्तरीमा दशक अघिदेखि चल्दैछ डबल गर्ने धन्दा, डीएसपीलाई लगानी बिनै लाभ

राजविराज– सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–४, डलवाका कासिम मन्सुरीले केही वर्षअघि स्थानीय सम्पतिया मुखियालाई २ लाख रुपैयाँ ऋण दिएका थिए। त्यसको केही समयपछि उनी आफैलाई पैसाको अखच पर्यो। उनी पैसा माग्दै सम्पतियाको घरमा पुगे।

सम्पतियाले उनको पैसा त फिर्ता गरेनन, तर साथमा भएको पैसालाई दोब्बर (डबल) पार्ने जुक्ति सिकाई दिए। सम्पतियाले कासिमलाई बताए अनुसार तिलाठी कोईलाडी गाउँपालिका–७, बभनगामा टोलका हनुमानी भनिने रामबहादुर रजकको समुहले पैसा लिएर आउनेहरुलाई हाताहाती दोब्बर पैसा दिएर पठाउँदै थियो।

कासिम हातमा १ लाख रुपैयाँ बोकेर हनुमानीको घर पुगे। नभन्दै सम्पतियाको कुरा सही सावित भयो। हनुमानीले कासिमलाई १ लाख रुपैयाँको वदला २ लाख हातमा राखिदिँदै ५ लाख रुपैयाँ लिएर आउन र एकै पटक १० लाख लिएर जान सुझाए।

१ लाखको बद्ला दुई लाख हातैमा बोकेका कासिमलाई हनुमानीको कुरा सही नै लाग्यो। त्यो भन्दा पनि एकै पटक १० लाख पाउने लोभमा उनले ‘सत्य र झुठ’ सोच्ने मौका नै पाएनन्। केही दिनमै उनी ५ लाखको विटो वोकेर हनुमानीको घरमा पुगे। ‘रकम धेरै ठुलो परिमाणममा भएकाले डबल गर्न समय लाग्ने’ बताएर हनुमानीले उनलाई घर पठाए। पछि १० लाख रुपैयाँ लिन जाँदा हनुमानी घरमा थिएनन्।

त्यसपछि बल्ल पैसा डबल गर्ने लोभमा आफु ठगीएको कासिमले थाहा पाए। केही समयपछि हुनमानीसँग सम्पर्क त भयो तर पैसा फिर्ता भएन। डबल गर्ने लोभमा कासिमले ५ लाख रुपैयाँ डुबाएको करिव १० वर्ष वित्यो। धेरै पटक उनी पैसा माग्दै हनुमानीको घर पुगे। तर, त्यहाँ पुगेपछि महिलाहरु लगाएर गाली वेईजती गर्न थालेपछि उनले घरमा धाउने काम पनि वन्द गरे।

त्यसपछि उनले हनुमानी, अरुण यादव, रुपेश यादव, कान्ता यादवलगायतको समुहमा रहेका ब्यक्तिलाई विपक्षी बनाएर गत असारमा जिल्ला प्रहरी कार्यालय सप्तरीमा उजुरी दिए। प्रहरीले उनलाई दुई पटकसम्म सोधपुछका लागि बोलायो। सवै कुरा वुझेपछि प्रहरीले वास्ता गर्न छोडेको उनी बताउँछन्। ‘हनुमानी घरमा छैन। इण्डिया गएको छ भन्छन्’ उनले भने–‘प्रहरीले पनि सहयोग नगरेपछि अव त न्याय माग्ने ठाउँ र पैसा पाउँने आश दुवै सकियो।’

यो समस्या कासिमको मात्र होईन। हनुमानी समुहबाट ठगीनेहरु धेरै छन्। कासिम भन्छन्–‘पैसा डुबाएका तर डर र लाजका कारण ठगिएको बताउन नचाहाने धेरै छन्। न्याय पाउने आश नहुँदा पनि उनीहरु खुल्न चाहेका छैनन्।’ स्रोतका अनुसार हनुमानी समुहबाट ठगिनेहरु सप्तरी मात्र होईन, सुनसरीको इनरुवासम्मका ब्यक्ति छन।

स्रोतका अनुसार केही समयअघि हनुमानीबाट ठगीएको एउटा समुह गाडीनै लिएर उनको घर पुगेको थियो। तर, हनुमानीको समुहले उनीहरुलाई कुटपिट गर्दै गाडीसमेत तोडफोड गरिदियो। यो विषय प्रहरीसम्मै पुग्यो। तर, कारवाहीको सट्टा मिलापत्रमा कुरा टुङ्गियो।

यता, कासिमको उजुरीपछि प्रहरीले अनुशन्धानका लागि भन्दै अरुण यादव र लक्ष्मी यादवसहित ४ जनालाई नियन्त्रणमा लिएर ३ दिनपछि छोडेको खुलेको छ। कासिम लगायतको समुह सम्पर्कमा आएपछि तत्कालिन डीएसपी ढुण्डीराज न्यौपानेले एकमुष्ट १० लाख रुपैयाँ लिएर पक्राउ परेकाहरुलाई छोडिदिएको स्रोतको दावी छ।

डीएसपी न्यौपाने ७ असोजमा सप्तरीबाट सरुवा भई जिल्ला प्रहरी परिसर भक्तपुर पुगेका छन्। उनले पैसा डबल गर्ने गिरोहको विषयमा उजुरी त टाढाको कुरा, त्यो विषय नै आफुलाई जानकारी नभएको दावी गरे।

‘मान्छे पक्राउ गरेर हिरासतमा राखेको, गिरोहसँग मिलेर पीडितलाई नै हप्ताएर पठाएको, हिरासतको फाईलबाट पक्राउ गरेकाहरुको रेकर्ड गायब वनाएको र यो सवै गरे वापत १० लाख रुपैयाँ लिएको आरोप छ नी तपाईमाथि ?’ भन्ने प्रश्नमा उनले भने–‘यो विषयमा मलाई केही पनि जानकारी छैन।’

यता, जिल्ला प्रहरी कार्यालय सप्तरीको वर्तमान नेतृत्व भने यस विषयमा अनभिज्ञ देखिएको छ। सप्तरी प्रहरीमा एसपी ढकेन्द्र खतिवडा र डीएसपी जितेन्द्रकुमार वस्नेत दुवै नयाँ छन्। उनीहरुले यो विषय जानकारीमा नआएको बताए। डीएसपी वस्नेत भन्छन–‘अहिलेसम्म मेरो कार्यालयमा कोही पनि पीडित आफु ठगिएको भनेर गुनासो गर्न आएको छैन। यदि पीडितले ठगिएँ भनेर आयो भने हामी आवश्यक कारवाही गर्छौ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट