प्रधानमन्त्री ओली विरुद्ध दुस्प्रचार गरेको आरोपमा दुर्गा प्रसाईँ पक्राउ
काठमाडौँ– प्रधानमन्त्रीविरुद्ध भ्रम फैलाएको आरोपमा मेडिकल ब्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन्। उनलाई प्रहरीले भक्तपुरस्थित निवासबाटै पक्राउ गरेको हो।
केन्द्रीय अनुसन्धान व्युरो सीआईबीका प्रमुख दीपक थापाले प्रसाईलाई पक्राउ गरिएको जानकारी दिए। ‘सामाजिक सन्जालमार्फत् अफवाह फैलाउनेहरुमाथि हाम्रो सधैं निगरानी रहन्छ। त्यही क्रममा प्रारम्भिक अध्ययन गरेर नियन्त्रणमा लिएका हौं।’– उनले भने।
प्रसाईले प्रधानमन्त्री ओलीमाथि जघन्य आरोप लगाएका थिए। प्रसाईंले कम्बोडियाको टेलिकममा प्रधानमन्त्री ओलीको साढे ३२ अर्ब लगानी रहेको भन्दै भिडिओ कलमार्फत् कसैले देखाएको कागजात सार्वजनिक गरेका थिए। प्रमाण भन्दै सार्वजनिक गरिएको स्क्रिनसट पत्यारिलो देखिएको छैन।
त्यही अपत्यारिलो प्रमाण मंगलबार दिउँसोदेखि सामाजिक सञ्जालमा सेयर भइरहेको छ। प्रधानमन्त्री ओलीले कम्बोडियाको टेलिकममा लगानी गरेको र त्यसैको ‘तथ्य प्रमाण’ भन्दै सेयर गरिएको उक्त स्क्रिनसटलाई केही सञ्चारमाध्यमले समाचारकै रूपमा प्रस्तुत गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमा अनुप नेपाल नामको आइडीबाट त्यही स्क्रिनसटलाई भिडिओ बनाएर हालिएको छ। उक्त खातामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको फोटोलाई प्रोफाइल पिक्चर राखिएको छ।