दुर्गा प्रसाईले प्रधानमन्त्री ओलीमाथि लगाएको आरोपको के हो सत्यता ? यस्तो छ प्रमाण
काठमाडौँ– सोमबार साँझदेखि प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सामाजिक सञ्जालमा एउटा आरोप भाईरल भईरहेको छ। विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंले केही कागज देखाएर ओलीको ‘कम्बोडियाको स्मार्ट एजियाटा नामक कम्पनीमा लगानी रहेको’ बताएपछि त्यही विषयले सामाजिक सञ्जाल रंगिएको छ।
प्रसाईले आफनै फेसवुक पेजमा एउटा भीडीओ अपलोड गर्दै दावी गरे अनुसार नेपालका प्रधानमन्त्री ओलीले एजियाटामा २१ करोड अमेरिकी डलर (साढे ३२ अर्ब रूपैयाँभन्दा बढी) लगानी गरेका छन।
‘हाम्रा संयोजक दुर्गा प्रसाईंलाई कम्बोडियाको एजियाटा कम्पनीमा हाम्रै प्रधानमन्त्री केपी शर्मा ओलीले लगानी गरेको प्रमाण प्राप्त भएको छ।’ भन्दै राखिएको भीडीओमा १४ मे २०१९ मा लगानी रकम २१ करोड यूएसडी तथा लगानीकर्ता Khadka Prasad oli (KP Oli) उल्लेख भएको एउटा कागज छ। जसमा नत ओलीको नाम मिलेको छ नत उनको हस्ताक्षर।
यसैगरी, अर्काे कागजमा ओलीको नाम Khadga Prasad oli (KP Oli) उल्लेख छ। तर, ओलीको ०४५ सालमा जारी भएको नागरिकतामा के.पी. शर्मा (ओेली) नाम उल्लेख छ। यसैगरी अंग्रेजीमा पनि K.P. SHARMA (OLI) लेखिएको छ। यसरी नाम र हस्ताक्षर नै नमिलेको कागज प्रमाण कसरी होला ? त्यसैले प्रसाईले ओलीमाथि लगाएको आरोप कुप्रचार जस्तो देखिएको छ।
अहिले मात्रै होईन, ओलीमाथि यसअघि पनि यस्तो आरोप लाग्दै आएको छ। खासगरी, अघिल्लोपटक प्रधानमन्त्री हुँदा ‘कम्बोडिया विजनेस फोरम’ मा सहभागी भएर आएपछि प्रसाईले नै ओलीमाथि यस्तो आक्षेप लगाउँदै आएका छन्। त्यस बेला ओलीले सेयर होल्डरको रूपमा हस्ताक्षर गरेको उनको दावी छ।
यसरी अपुष्ट कागजको आधारमा प्रधानमन्त्री विरुद्ध हल्ला फैलाएपछि प्रसाईलाई कारवाही गर्ने तयारी भईरहेको स्रोतले जनाएको छ। यो कुरा प्रसाई स्वयमले पनि पुष्टि गरेका छन्। उनले केहीबेर अघि फेसबुक मार्फत आफुलाई पक्राउ गर्ने तयारी भईरहेको जानकारी दिएका छन्।
‘मलाई पक्राउको तयारी, चनाखो रहन आग्रह’ भन्दै उनले लेखेका छन्–‘हिँजो मैले कम्बोडीयामा केपी ओलीको लगानी रहेको बिषय पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरे संगै मलाई यो राज्य सत्ताले फेरी झुटो मुद्धा लगाई पक्राउको तयारी गरेको छ। मलाई साईवर क्राईम, राज्यद्रोह वा अन्य जुनसुकै मुद्धामा पक्राउ गरेपनी सचेत र चनाखो रहन आग्रह गर्दछु। देशभक्त सम्पुर्ण नागरिकहरु, राष्ट्रवादि राजनितिक दल कांग्रेस, रास्वपा, राप्रपा, एकिकृत समाजवादी भित्रका असल नेता कार्यकर्ताहरु हामी चुप लागेर बस्दासम्म यी र यस्ता सामन्त शासकले हामीलाई जेल कोच्ने र देश लुट्ने काम गरिरहनेछन्। राजधानी केन्द्रित रही आन्दोलनको आँधिवेहरीका लागी तयार रहनुहुन सबै देशभक्त नागरिकमा हार्दिक अपिल गर्दछु।’