सीके राउतलाई उनकै सांसदको चुनौतीः ठेकेदारसँग पैसा मागेको प्रमाणित गर्नोस

काठमाडौंँ– जनमत पार्टीका अध्यक्ष सीके राउतलाई उनकै पार्टीकी समानुपातिक सांसद गोमा लाभ (सापकोटा) ले चुनौती खडा गरिदिएकी छिन्।

आफु अनुकुल नचलेपछि राउतले सांसद सापकोटालाई संसदबाट गलहत्याउन मरिहत्ते गरेका छन्। तर, सभामुखले टेरपुच्छर नलाउँदा राउतको प्रयास असफल हुँदै आएको छ। उनले सापकोटामाथि ‘पार्टी फुटाउने गतिविधिमा संलग्न भएको र ठेकेदारसँग पैसा मागेको’ आरोप लगाएका छन्।

पार्टीले अनुशासनको कारबाही गरेकाले सभामुखले पनि सूचना टाँस गरेर सापकोटालाई पदबाट हटाउनु पर्ने राउतको माग छ। उनले चार पटकसम्म पत्राचार गरेर सापकोटालाई पदबाट हटाउन सभामुखलाई दबाब दिईसकेका छन्।

जनमत पार्टीले पहिलो पटक २७ फागुन २०८०, दोस्रोपटक १ चैत २०८०, तेस्रोपटक २७ भदौ २०८१ मा सभामुखलाई पत्र पठाएको थियो। तर, सभामुखले टेरपुछर नलाएपछि अन्तिम पटक २७ कात्तिकमा अर्को पत्र पठाएको संसद सचिवालयले जनाएको छ।

सांसद सापकोटाले भने विनाकारण आफूलाई सांसदबाट हटाउने प्रयास गरिएको बताएकी छिन्। उनले एक अनलाईन मिडियालाई प्रतिक्रिया दिँदै आफुमाथि लागेका आरोप प्रमाणित भए कारबाही भोग्न तयार रहेको बताएकी छिन्।

‘यस विषयमा मलाई पार्टीबाट कुनै जानकारी आएको छैन। म जिल्लातिरै पार्टीको काममा पनि, आफ्नो काममा पनि थिएँ। समाचार देखेपछि वुझ्ने प्रयास गर्दैछु।’ उनले भनेकी छिन्। ‘मैले अनुशासन विपरीत, पार्टीको अहित हुने काम त केही पनि गरेको जस्तो लाग्दैन। मलाई पत्र पठाउनु भएको पनि छैन’ उनले भनिन्–‘संसद सचिवालयमा पठाएको पत्रमा पनि मेरोबारेमा के लेखिएको छ भन्नेबारे समेत जानकारी छैन।’

आफुले केही नगर्दा पनि पटकपटक झुठो आरोप लगाइएको उनको गुनासो छ। ‘आरोप लगाउँदाखेरि पुष्टि पनि त गर्नुप¥यो। मैले त फेरि केही गरेकै छैन। मैले गल्ती गरेको पुष्टि भए त सुरुमै पदबाट हटिसक्थें होला’ उनले थपिन–‘गल्ती नगरेको, गल्ती नदेखिएको कारणले होला नि त चार–चार पटक पत्र पठाउनुपरेको। गल्ती गरेको भए त एकचोटीमै कारबाही भइसक्थ्यो नि त।’

आफुमाथि लगाईएका आरोपका बारेमा मतदातालाई जानकारी दिन र सार्वजनिक रुपमा स्पष्ट पार्न उनले राउतलाई चुनौती दिईन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट