प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा वार्ताः मन्त्री हेरफेरको तयारी
काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता हुँदैछ।
उनीहरुबीच मन्त्रिपरिषद्को हेरफेर, स्थानीय चुनाव, प्रधानमन्त्रीको चीन भ्रमण लगायतका विषयमा छलफल हुने बालुवाटार स्रोतले जानकारी दिएको छ। सत्तारुढ दुई दलले सरकारमा सहभागी केही मन्त्रीलाई फिर्ता बोलाएर नयाँलाई पठाउने तयारी गरिरहेका छन्।
पछिल्लो समय केही मन्त्रीको काम चित्त बुझ्दो नरहेको भन्दै हटाउनुपर्ने आवाज उठिरहेकोछ।
एमाले अध्यक्ष ओली गत असार ३० गते चौथो पटक प्रधानमन्त्रीमा नियुक्त भएका थिए। १७ असारमा राति बूढानीलकण्ठस्थित एक घरमा कांग्रेस र एमालेबीचको सहमतिअनुसार प्रधानमन्त्री बनेका ओलीले पहिलो तीन महिनामा सरकारलाई अपेक्षाअनुसार अघि बढाउन सकेका छैनन्।
सय दिनको प्रगति सार्वजनिक गर्दा पनि ओलीले सरकारले गति लिन नसकेको स्वीकारेका थिए। आफूले विश्वास गरेकै मन्त्रीहरूको कार्यक्षमता गतिलो नभएपछि ओली असन्तुष्ट छन्।
दुईतिहाइ बहुमतनजिकको सरकारले देशको अर्थतन्त्रमा देखिएको समस्या समाधान गरेर आशा जगाउन नसक्दा चर्को आलोचना खेपिरहेको छ।