खनारमा बसको ठक्करबाट बालिकाको मृत्यु भएपछिको तनावमा २ एसपी र २ डीएसपीसहित २२ सुरक्षाकर्मी घाईते
इटहरी– सुनसरीको खनारमा आईतबार यात्रुबसको ठक्करबाट साईकल यात्री बालिकाको मृत्युपछि उत्पन्न तनावमा २२ जना सुरक्षाकर्मी घाईते भएका छन्। घाईते हुनेमा नेपाल प्रहरीतर्फ २० र सशस्त्र प्रहरीतर्फ २ जना रहेको प्रहरीले जनाएको छ।
भिडले ढुंगामुडा गर्दा सुनसुरी प्रहरीका एसपी सुमनकुमार तिम्सिना, सशस्त्रका एसपी समेनन्द बज्राचार्य, सुनसरीका डीएसपी रामप्रसाद तिमल्सिना र इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी लक्ष्मी भण्डारीसहित २२ प्रहरी घाइते भएका जनाईएको छ। घाइतेहरुमा इन्स्पेक्टर सागर तिमल्सिना, असइहरु आनन्द पोखरेल, भूपराज पोखरेल, वरिष्ठ हवल्दार समीर सापकोटा, अयोधी यादव, हवल्दार गोमा राउत, श्यामनारायण यादव, कल्याणी आचार्य छन् ।
यसैगरी, सहायक हवल्दार राकेश न्यौपाने, दीपक राई, लोकनाथ धमला, अशोक राई, जवान गणेश तिमल्सिना, सुमन खड्का, सन्दीपकुमार मोक्तान र प्रकाश दाहाल पनि घाइते छन्। उनीहरुको अवस्था सामान्य छ।
आईतबार साँझ करिव साढे ४ बजे इटहरीबाट विराटनगरतर्फ जाँदै गरेको प्रदेश नं. १–०१–००१ ख ४५७४ नं. को बसले इटहरी –१२ स्थित रिलाईन्स मिल अगाडि साईकललाई ठक्कर दिएको थियो। बसको ठक्करबाट साईकल यात्री इटहरी उपमहानगरपालिका–१० का श्यामनारायण यादवकी छोरी सम्झना यादव (१३) ले घट्नास्थलमै ज्यान गुमाईन।
इटहरी– ९ स्थित जनता माध्यमिक विद्यालयको कक्षा ९ मा पढ्ने सम्झनाको मृत्युपछि त्यहाँ तनावको बताबरण बन्यो। आक्रोशित भीडले दुर्घटना गराएर भागेको बसलाई सुनसरी–मोरङ सिँचाई आयोजना अगाडि नियन्त्रणमा लिएर आगो लगायो।
आगजनी हुन थालेपछि निसास्सिएका यात्रुले भागेर ज्यान वचाएका थिए। बस जलेर ध्वस्त भयो। त्यसपछि भिडमा हस्तक्षेप गरेको प्रहरीले स्थिति नियन्त्रणमा लिने प्रयास गर्यो। त्यस क्रममा प्रहरीमाथि पनि ढुङ्गामुढा प्रहार भयो। प्रहरीले जवाफी कारवाही गर्दा २२ राउण्ड अश्रुग्याँस र ३४ राउण्ड हवाई फायर गर्यो।
इन्सास राइफलबाट ११ राउन्ड, ग्यास गनबाट ११ सेल अश्रु ग्यास तथा ३०३ राइफलबाट २५ राउन्ड ब्ल्याङ्क फायर, एसएलआरबाट २ राउन्ड, सटगनबाट ७ काटिज गरी जम्मा ५६ राउन्ड फायर गरी स्थितिलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
बस चालक विराटनगर उपमहानगरपालिका –१३ अमित श्रेष्ठ (२७)लाई इलाका प्रहरी कार्यालय इटहरीले नियन्त्रणमा लिएको छ। यता, जिल्ला सुरक्षा समितिको आकस्मिक बैठकले घटनाको छानबिन गर्नका इन्स्पेक्टर महेन्द्र पराजुलीको नेतृत्वमा ५ सदस्यीय समिति गठन गरेको छ।