बन्दीपुरमा २ वटा बस ठोक्किँदा भयंकर दुर्घटना, एउटा बसका चालकको मृत्यु, ३० जना घाइते
काठमाडौँ— पृथ्वी राजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–५ गोरेचौतारा घुम्तीमा आइतबार २ वटा बस ठोक्किँदा एउटा बसका चालकको मृत्यु भएको छ। दुर्घटनामा ३० जना घाइते भएका छन्।
पोखराबाट नेपालगञ्जतर्फ जाँदै गरेको भे १ ख ३४८७ न.को बस र काठमाडौँबाट पोखरा जाँदै गरेको जीएए ००७० नम्बरको बस आपसमा ठोक्किएर दुर्घटना भएको हो। दुर्घटनामा जीएए ००७० नम्बरको बसका चालक तनहुँको ऋषिङ पाटन घर भइ कास्की बस्दै आएका रामबहादुर परियार (३९)को मृत्यु भएको हो।
दुर्घटनामा परी घाइते भएका परियारको लक्ष्मी अस्पताल डुम्रेमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। घाइते १५ जनाको लक्ष्मी अस्पताल र १४ जनाको मोती अस्पतालमा उपचार भईरहेको छ।
टाउकोमा चोट लागेर गम्भीर घाइतेलाई मोती मेडिकलमा सामान्य उपचारपछि थप उपचारका लागि चितवन मेडिकल कलेज पठाइएको छ। उनको पहिचान भएको छैन। अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।