प्रधानमन्त्री ओलीले रास्वपाका नेतासँग भेट्न मानेनन्, रिसाए मनिष झा
काठमाडौँ– आफना पार्टी सभापति पक्राउ प्रकरणमा दुखमनाउ गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट्न खोजेको ५ दिन वित्यो। तर, ओलीले अहिलेसम्म उनीहरुलाई भेट्न मानेका छैनन्।
खास गरी चितवनमा पुतला दहन गर्दै काजकिरिया गरेको प्रकरणपछि रास्वपा नेताहरुसँग ओली चिढिएका छन्। उनले हरेक जसो सार्वजनिक समारोहमा यस विषयमा टिप्पणी गर्ने गरेका छन्। यही सेरोफेरोमा रास्वपाका नेताहरुले भेट्न खोज्दा उनको सचिवालयले समय दिन सकेको छैन।
देशको चौंथो ठूलो राजनीतिक शक्तिलाई प्रधानमन्त्रीले उपेक्षा गरेको भन्दै रास्वपाका नेताहरुले भने आपत्ति जनाएका छन्। आज आयोजित पत्रकार सम्मेलनमा रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले पार्टीको मागपत्र लिएर प्रधानमन्त्रीलाई भेट्न खोज्दा समय नपाएको गुनासो गरे। उनले प्रधानमन्त्रीको ब्यवहार प्रति आक्रोश ब्यक्त गरे।
पाँच मिनेट समय लिएर भेट्न खोज्दा समय नपाउनु दखद भएको उनको भनाई छ। ‘देशको चौंथो ठूलो राजनीतिक दललाई उहाँले पाँच मिनेट पनि समय दिनुभएन’ झाले भने–‘बरु विभिन्न कार्यक्रममा गएर हामीलाई खिसिट्यूरी गर्नुभयो।’
जापानमा एक व्यक्तिले के–के बोले भन्नेसमेत सुनेर एक्सन लिन सक्ने प्रधानमन्त्रीले आफुहरुको पत्रकार सम्मेलनमा बोलेका कुराहरु पक्कै सुन्ने उनले अपेक्षा गरे।