कार्यवाहक मेयरको कार्यकक्षमा वडाध्यक्षको तोडफोड
काठमाडौँ– कीर्तिपुर नगरपालिकाकी कार्यवाहक मेयर शुभलक्ष्मी शाक्यको कार्यकक्षमा एक जना वडाध्यक्षले तोडफोड गरेका छन्। वडा नम्बर ३ का अध्यक्ष सुविन्द्र महर्जनले कार्यकक्ष तोडफोड गरेका हुन।
कार्यवाहक मेयर शाक्य र वडाध्यक्षहरूबीच सचिवालयमा छलफल भइरहेको बेला वडाध्यक्ष महर्जनले शुक्रबार अपराह्न ३ बजे तोडफोड गरेको आरोप छ। महर्जनले प्रमुख प्रशासकीय अधिकृतसँग भेट्न खोजेको र समय निदएको भन्दै टेबलमा प्रहार गरेका थिए।
महर्जनले टेबलमा प्रहार गर्दा टेबलका सिसा फुटेको छ। कार्यवाहक मेयर शाक्यले पनि वडाध्यक्षले तोडफोड गरेको बताइन्। ‘प्रशासकीय अधिकृत पनि शाखा अधिकृतहरूसँग छलफलमा व्यस्त हुनुहुन्थ्यो। समय लिनुभएको पनि थिएन।’ उनले भनिन–‘केहीबेर कुर्नुपरेकाले मलाई नै लक्षित गरी उहाँले खुट्टाले टेबलमा प्रहार गर्नुभयो।’
वडा नम्बर ३ का अध्यक्ष महर्जनले भने आफूले नियतवशः नफुटाएको बताए। जनप्रतिनिधिहरूलाई समय नदिइएको विषयमा भनाभन भएको र त्यही क्रममा अगाडि बढ्दा लागेर फुटेको उनले बताए।