डेङ्गी संक्रमणबाट प्रदेश सांसद र कृषि वैज्ञानिकको मृत्यु

काठमाडौँ– डेङ्गी सक्रमणका कारण बुधबार एकै दिन गण्डकी प्रदेशसभा सदस्य बिमला गौचन र धनुकटाका कृषि वैज्ञानिक डा. कृष्ण पौडेलको मृत्यु भएको छ।

६३ वर्षीया प्रदेश सांसद गौचनको काठमाडौँको ग्राण्डी अस्पतालमा उपचारका क्रममा बुधबार राति मृत्यु भएको हो। उनी नेपाली कांग्रेसबाट समानुपातिक निर्वाचन प्रणालीबाट प्रदेश सांसद चुनिएकी हुन।

यसैगरी, धनकुटास्थित पाख्रीबास कृषि अनुसन्धान केन्द्रमा कार्यरत कृषि वैज्ञानिक डा. कृष्ण पौडेलको पनि डेंगी संक्रमणकै कारण मृत्यु भएको छ। मोरङको विराट नर्सिङ होममा उपचारका क्रममा उनको मृत्यु भएको हो।

लगातार ज्वरो आएपछि उनलाई उपचारका लागि धनकुटा जिल्ला अस्पताल भर्ना गरिएको थियो। जिल्ला अस्पतालले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र प्रतिष्ठानले विराट नर्सिङ होममा रिफर गरेको थियो।

उपचारकै क्रममा उनको मृत्यु भएको हो। फलफूल विशेषज्ञ रहेका पौडेल अनुसन्धान केन्द्रमा वैज्ञानिक अधिकृतका रुपमा कार्यरत थिए। पाख्रीबास नगरपालिका–३ चेतनामार्गका स्थायी बासिन्दा पौडेलका श्रीमती शर्मिला सापकोटा र २ सन्तान छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट