वडाध्यक्षको मृत्युपछि श्रीमती उम्मेदवार, वुहारी उम्मेदवार भएकै राती हृदयघात भएर सासुको मृत्यु

जनकपुर– महोत्तरीको रामगोपालपुर नगरपालिका– २ का वडाध्यक्ष मुकेश यादवको मृत्युको शोकमा रहेकी आमा समुद्रीदेवी यादवको पनि मृत्यु भएको छ। समुद्रीको गएराती हृदयघातका कारण मृत्यु भएको हो।

वडाध्यक्ष रहेका ३५ वर्षीय छोराको गत ९ भदौमा रहस्यमय मृत्युपछि शोकमा रहेकी आमालाई गएराती हृदयाघात भएको थियो। उनको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरी अनुशन्धान गरिरहेको छ।

पक्राउ परेका महोत्तरीकै औरही नगरपालिका–७ का सञ्जीव झा र दिलिप मण्डल पुर्पक्षका लागि हाल जलेश्वर कारागारमा छन्। वडाध्यक्ष मुकेशको मृत्युपछि रामगोपालपुर– २ मा १६ मंसिरमा उपचुनाव हुँदैछ। माओवादी केन्द्रले मुकेशकी पत्नी आइतीकुमारी यादवलाई उम्मेदवार बनाएको छ।

आईतीलाई सोमबार दिउँसो मात्रै उम्मेदवार बनाउने घोषणा भएको थियो। माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपस्थित भएर आइतीकुमारीलाई वडाध्यक्षको उम्मेदवार बनाउने घोषणा गरेका थिए।

बुहारी वडाध्यक्षको उम्मेदवार घोषित भएकै राति समुद्रीलाई हृदयघात भएको हो। ९ भदौको विहान महोत्तरीको बर्दिबास नगरपालिका–८ को सडक छेउमा मोटरसाइकलसँगै वडाध्यक्ष यादवका मृत फेला परेका थिए।

सुरुमा उनको सडक दुर्घटनामा मृत्यु भएको आशंका गरिएको थियो। तर, परिवारका सदस्यले उनको मृत्यु दुर्घटना नभई हत्या भएको दावी गरे। माओवादी केन्द्रले परिवारको कुरामा विस्वास गर्दै घट्नाको अनुशन्धान गर्न प्रहरीलाई दबाब दियो। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल आफैं उपस्थित भएर अनुशन्धान हुनुपर्ने भन्दै सम्वोधन गरे।

त्यसपछि प्रहरीले सञ्जीव र दिलिपलाई पक्राउ गरेको थियो। उनीहरु ७ कात्तिकमा कर्तव्य ज्यान (हत्या) सम्बन्धी कसुरमा पुर्पक्षका लागि कारागार चलान भएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट