मनाङेलाई ३ दिनमै समाउन सक्ने सीआईबीले विनु शाहीलाई ४० दिनसम्म किन समाएन ?
काठमाडौँ– २१ वर्षअघि गुन्डा नाइके चक्रे मिलन (मिलन गुरुङ) को हात छिनाएको घटनामा दोषी ठहर भएका गण्डकी प्रदेशका सांसद एवम् पूर्वमन्त्री राजिव गुरूङ (दीपक मनाङे) मंगलबार काठमाडौंको सितापाइलास्थित कम्फर्ट हाउजिङबाट पक्राउ परे।
३ दिनदेखि एक जना महिला साथीको घरमा लुकेर बसेका उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) को टोलीले अनेक सुत्र प्रयोग गरेर हतकडी लगाएरै छोड्यो। प्रहरीका अनुसार केही समय ढिलो भएको भए मनाङे फरार हुन सक्थे। सर्वोच्च अदालतको २० कात्तिकको फैसलाले मनाङेलाई ५ वर्ष कैद तोकिएको छ।
फैसलापछि सीआईबी, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले उनलाई खोजिरहेको थियो। उनी भने प्रहरीलाई झुक्याउन दैनिक मोवाईलका सीम फेर्ने, एउटा लोकेसनमा मोवाईल पठाएर अर्कै लोकेशनमा वस्ने तथा स्थाई नम्वरको मोबाइल बन्द गरेर भागिरहेका थिए। यसरी प्रहरीलाई भ्रममा पार्ने अनेक प्रपञ्च गरेपनि आखिरमा मनाङे धेरै दिन लुकेर वस्न सकेनन्। प्रहरीले उनलाई पक्राउ गरेरै छोड्यो।
मनाङेलाई सजिलै पक्राउ गर्न सक्ने प्रहरीले आफ्नै विभागको मान र प्रतिष्ठाको धज्जी उडाउँदै ‘हनीट्रयाप’ काण्ड मच्चाउने इन्स्पेक्टर विनुकुमारी शाहीलाई भने अहिलेसम्म पक्राउ गर्न सकेको छैन।
ललितपुरको भैंसेपाटी प्रहरी प्रभागको इञ्चार्ज हुँदा शाही सुनसरीको इटहरीमा भएको घटनालाई लिएर रकम असुलीमा उनी संलग्न भइन्। उनलाई गृह मन्त्रालयले १८ असोजमा निलम्बन गर्यो। ललितपुर जिल्ला अदालतले उनलाई पक्राउ गर्न प्रहरीलाई अनुमति पनि दिएको छ। तर निलम्बनमा परेको ४१ दिनसम्म पनि उनी पक्राउ परेकी छैनन्।
प्रहरीले गरेको आन्तरिक छानविनमा गिरोहसँग मिलेर इन्स्पेक्टर शाहीले ३० लाख रुपैयाँ लेनदेनको कसुरमा दोषी देखिएकी छिन्। उनीसहित उक्त अपराधमा संलग्न महिला सुष्मा विक, योजनाकार ताज मुल इस्लाम, भीमादेवी थापा र प्रहरी सहायक हवलदार महेन्द्र हमाल विरुद्ध प्रहरीले आपराधिक लाभसम्बन्धी कसुरमा मुद्दा चलाइएको छ। इन्स्पेक्टर शाही र इटहरीका दर्शन पोखरेल फरार छन्।
यो प्रकरणमा एसपी कमल थापासहित अन्य प्रहरी तथा गैरप्रहरीको संलग्नता खुल्न थालेपछि प्रहरी प्रधान कार्यालयले अनुशन्धानको जिम्मा सीआईबीलाई दिएको छ। सीआईबीका प्रवक्ता एसपी होविन्द्र बोगटी शाहीलाई पक्राउ गर्न टोली परिचालित भइसकेको बताएका छन्।