मधेशकी छोरी चम्किँदा महिला यू–१९ विश्वकपको एसिया छनोटमा नेपालको दबदबा, को हुन पूजा
राजविराज– यूएईमा जारी महिला यू–१९ विश्वकपको एसिया छनोटमा कुवेतलाई १६५ रनको विशाल अन्तरले हराएपछि नेपाली महिला क्रिकेट टीम चर्चामा छ। त्यो भन्दा पनि वढि चर्चा कप्तान पूजा महतोको भईरहेको छ।
नहोस पनि किन, पूजाको जादुमयी खेलका कारण नै मंगलबार नेपालले कुवेतलाई पराजित गर्यो। बल र ब्याट दुवैतर्फ पूजा हावी भईन। कुवेतले खेल जित्ने त के, सम्हालिने मौका समेत पाएन। यो प्रतियोगितामा रन रेट महत्वपूर्ण थियो। त्यसैले पूजा सुरुदेखि नै आक्रामक थिईन। कुवेतका कुनै पनि बलरले उनको ब्याटिङको सामाना गर्न सकेनन्।
नेपालले १.२ ओभरमा १० रन बनाउँदा पहिलो विकेटका रुपमा ओपनर साना प्रवीनलाई गुमायो। त्यसपछि क्रिजमा आएकी पूजाले ओपनर सावित्री धामीसँग मिलेर नेपालको स्कोर ५६ रन पुर्याइन्। ११ रनको निजी स्कोरमा सावित्री आउट भएपछि सोनी पाख्रिन क्रिजमा आईन। सोनीले पूजालाई बलियो साथ दिईन। सोनीले अविजित ४३ रन बनाईन। यता, पूजा र सोनी मिलेर ८४ बलमा १५७ रनको कीर्तिमानी साझेदारी गरे।
यो खेलबाट पूजाले नेपाली महिला क्रिकेटका थुप्रै कीर्तिमान आफ्नो नाममा लेखाईन। उनले बनाएको शतक यू १९ अन्तर्राष्ट्रिय महिला क्रिकेटमा पहिलो र समग्र महिला क्रिकेटमा दोस्रो हो। उनीभन्दा अगाडि रुबिना क्षेत्रीले मात्रै अन्तर्राष्ट्रिय क्रिकेटमा शतक बनाएकी छिन्। पूजाले बनाएको १३० रन अन्तर्राष्ट्रिय महिला क्रिकेटमा कुनै पनि नेपाली खेलाडीले बनाएको उच्च स्कोर हो भने एउटै टि २० खेलमा सतक र पाँच विकेटको दुर्लभ कीर्तिमानसमेत उनले बनाएकी छिन्।
पूजाले सोनीसँग गरेको १५७ रनको साझेदारी पनि अन्तर्राष्ट्रिय महिला क्रिकेटमा नेपालको नयाँ कीर्तिमान हो।
को हुन पूजा, एकाएक कसरी आईन चर्चामा?
महोत्तरीको गौशाला नगरपालिका–९ डुवरबना घर भएकी पूजा मधेसकी छोरी हुन्। उनका बुबा भारतको नयाँ दिल्लीमा मजदुरी गर्छन। पूजा बुवासँग भारतमै थिईन। बुवाको इच्छा क्रिकेटर वन्ने थियो। तर, अनेक व्यवधानका कारण उनले आफनो इच्छा पुरा गर्न सकेनन्।
त्यसैले उनी छोरीलाई क्रिकेटरको रुपमा देख्न चाहान्थे। छोरी राम्रो खेलाडी भए आफनो पनि सपना पुरा हुने तर्कनामा रहेका उनी सधै पूजालाई हौस्याईरहन्थे। बुवाले नै उनलाई क्रिकेटमा लाग्न प्रेरित गरेका हुन्। पूजा आफ्नो बुवालाई नै पथ प्रदर्शक मान्छिन्।
वास्ना होस वा गन्ध, त्यसले आफनो आकार लिन्छ नै। पूजाको क्रिकेटमा भईरहेको प्रगतिको वास्ना भारतबाट नेपालसम्म फैलियो। यही चर्चापछि नेपाल क्रिकेट संघले नै उनलाई नेपाल झिकाएको हो। उनलाई सिधै राष्ट्रिय टोलीमा समावेश गरियो। उनले १५ महिना अगाडि १७ वर्षकै उमेरमा राष्ट्रिय महिला टीममा डेब्यू गरेकी हुन। अहिले उनी १८ वर्षकी भईन।
हिजो मात्र होईन, समग्र प्रतियोगितामै उनको प्रदर्शन उत्कृष्ट छ। नेपालले खेलेका ५ खेलमध्ये ४ खेलमा उनले नेपालका तर्फबाट सर्वाधिक व्यक्तिगत स्कोर बनाएकी छिन्। पहिलो खेलमा थाइल्यान्डविरुद्ध उनले ३५ रन र २ विकेट लिईन भने दोस्रो खेलमा कुवेतविरुद्ध सर्वाधिक ३४ रन र १ विकेट लिइन्।
यूएईविरुद्धको तेस्रो खेलमा नेपाल पराजित हुँदा पनि पूजाले एक्लै ४३ बलमा ४८ रन बनाएकी थिईन। बलिङमा उनले एक विकेट लिएकी थिइन्। थाईल्याण्ड विरुद्धको चौंथो खेलमा सुस्ताए पनि बलिङमा एक विकेट लिइन्।
नेपालले अन्तिम र फाईनल खेल आज यूएईविरुद्ध खेल्दैछ। यूएईसँग फराकिलो जित दर्ता गर्न सके मात्रै नेपालले यु १९ विश्वकपको ढोका खोल्न सक्छ। यो खेलमा सबैभन्दा बढी आशा पनि पूजाबाटै गरिएको छ।