वयान लिन बुटबल लगिएका रवि लामिछानेलाई प्रहरीले उतै राख्यो

काठमाडौँ– बुटवलको सुप्रिम सहकारी सहकारीको रकम हिनामिनाको विषयमा अनुसन्धानका लागि रूपन्देही पुर्‍याईएका रास्वपाका सभापति रवि लामिछानेलाई प्रहरीले उतै राखेको छ। मंगलबार उनको वयान नसकिएपछि लामिछानेलाई रुपन्देही प्रहरीको हिरासतमा राखिएको हो।

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका डीएसपी लक्ष्मी खनालले समय अभावका कारण बयान नसकिएकाले जिल्ला प्रहरी कार्यालयमा राखिएको जानकारी दिईन। उनलाई हिरासतको छुट्टै कोठामा राख्ने प्रहरीले जनाएको छ।

बुधबार बिहान १० बजेदेखि जिल्ला सरकारी वकिलको कार्यालयमा फेरी बयान लिईने जनाईएको छ। मंगलबार गोर्खा मिडिया र सुप्रिम सहकारीको रकम हिनामिनासँग सम्बन्धित ७० वटा प्रश्न तयार गरी लामिछानेसँग बयान लिइएको प्रहरीले जनाएको छ। वयान दिएर निस्कदै गर्दा लामिछानेले ‘खोरमा थुनिदैमा बाघ स्याल हुँदैन’ भन्दै प्रतिक्रिया दिए।

सुप्रिम सहकारीबाट १ करोड ९६ लाख लामिछानेकै नाममा र १४ करोड २९ लाख रुपैयाँ उनी प्रबन्ध निर्देशक रहेको गोर्खा मिडिया नेटवर्कमा विभिन्न व्यक्तिमार्फत पुगेको संसदीय छानबिन विशेष समिति र प्रहरीको प्रतिवेदनमा उल्लेख छ।

विभिन्न सहकारीको बचत रकम गोर्खा मिडियामा लगानी गरेर अपचलन गरेको भन्दै संसदीय विशेष छानबिन समितिले लामिछानेसहित गोर्खा मिडिया नेटवर्क प्रालिका अध्यक्ष गितेन्द्र बहादुर राई र उपाध्यक्ष समेत रहेका पूर्वडिआइजी छविलाल जोशी र कुमार रम्तेललाई पनि कारबाही गर्न सिफारिस गरेको थियो।

राई फरार छन् भने लामिछाने, जोशी, लीला पछाईं र रामबहादुर खनाललाई प्रहरीले पक्राउ गरेको छ। लामिछानेलाई गत २ कात्तिकमा काठमाडौँमा पक्राउ गरी कास्की लगिएको हो। त्यसयता कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई आइतबार कास्की जिल्ला अदालतले अनुसन्धान गर्न थप १३ दिन हिरासतमा राख्न अनुमति दिएको छ।

सोही अवधिमा लामिछानेलाई सुप्रिम सहकारीको रकम हिनामिना प्रकरणमा बयान लिन मंगलबार दिउँसो पोखराबाट भैरहवा लगिएको हो। लामिछानेलाई बयानका लागि भैरहवा पुर्‍याएपछि रास्वपा कार्यकर्ता र सहकारी पीडितले दिनभर भैरहवामा प्रदर्शन गरे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट