तीन दिनदेखि केटी साथीको घरमा लुकेर बसेका मनाङे त्यहाँबाट भाग्नै लाग्दा यसरी परे प्रहरीको जालमा
काठमाडौँ– ०६१ सालको तरबार काण्डमा सर्वोच्च अदालतले उच्च अदालत पाटनको फैसला (०७८ सालको) लाई सदर गरेसँगैँ गण्डकीका प्रदेश सांसद एवम पूर्वमन्त्री राजीव गुरुङ (दीपक मनाङे) सम्पर्क विहिन भए।
सर्वोच्चका न्यायाधीश डा. नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको २० कात्तिकको इजलासले मनाङेले ५ वर्ष कैद बस्नु पर्ने फेसलालाई सदर गरेको थियो। त्यसपछि प्रहरीले खोजी गरे पनि उनी सम्पर्कमा आएनन्। उनले सामाजिक सञ्जालबाट आफु नभागेको र अदालतको फैसलाको पूर्णपाठ आएपछि आफै प्रहरीमा पुग्ने बताएका थिए।
तर, प्रहरीले उनको खोजी गरिरहेको थियो। उनले विभिन्न नम्बरबाट निकटस्थसँग गरेको कुराकानीका आधारमा प्रहरीले केही मोबाइल नम्बर सङ्कलन गरेको थियो। त्यस आधारमा कल डिटेल्स (सिडिआर) को अध्ययन गर्यो। तर, त्यसरी खोजी गर्दा मनाङेलाई फेला पार्न प्रहरीलाई निकै मेहनत गर्नु पर्यो।
यो उपायले काम गर्ने देखेपछि प्रहरीले अन्य उपायको खोजी गर्यो। त्यस क्रममा प्रहरीको एउटा टोली नयाँबजार, म्हेपीस्थित घरमा खटियो। त्यहाँबाट लुगाफाटो लिएर जाने व्यक्तिको दुई दिनदेखि रेकी (निगरानी) गर्दा मनाङे बसेको ठाउँ पत्ता लाग्यो।
उनी सितापाईला स्थित कम्फोर्ट हाउजिङमा बस्ने महिलासाथीको कोठामा लुकेर बसेको प्रहरीले सुँईको पायो। प्रहरीका अनुसार आश्रयदाता महिला मनाङेकी पुरानो साथी हुन। उनलाई त्यहीँ पक्राउ गर्ने योजना बन्यो। त्यसै अनुसार मंगलबार बिहान सादा पोशाकका प्रहरी महिलाको घरमा पुगे।
प्रहरी पुग्दा मनाङे ब्रेकफास्ट गर्दै थिए। तीन दिनदेखि त्यहाँ रहेका उनी ब्रेकफास्टपछि अन्यत्र जाने तयारीमा थिए। वाहिर एउटा मोटरसाईकल लागिरहेको थियो। प्रहरीले आफनो परिचय दिएपछि भने मनाङेले केही असहज महशुस गरे।
त्यसपछि उनले ‘आफु आत्मसमर्पण गर्न जानै लागेको’ भन्दै त्यो मौका दिन अनुरोध गरे। तर, प्रहरीले अस्वीकार गरेपछि उनी पक्राउ परेका हुन्। उनलाई प्रहरीले हतकडी लगाएर अदालतमा उपस्थित गराएको छ।
ज्यान मार्ने उद्योगको कसुरमा उनलाई ५ वर्ष कैद सजाय हुने फैसला भएको थियो। जिल्ला अदालत काठमाडौं, उच्च अदालत पाटनबाट दोषी ठहर उनी गत साता सर्वोच्चबाट पनि दोषी ठहर भएका थिए।
दुई ग्याङस्टार (मनाङे समुह र मिलन चक्रे भनिने मिलन गुरुङ समुह) बीचको झगडामा ०६१ सालमा तरबार प्रहार गरेर चक्रे मिलनको ज्यान मार्ने उद्योग गरेको अभियोगमा मनाङेविरुद्ध मुद्दा चलेको थियो। त्यसको २० वर्षपछि सर्वोच्चले उच्च अदालत पाटन (तत्कालिन पुनरावेदन अदालत) को फैसालालाई गत मंगलबार सदर गरेको हो।
पुनरावेदन अदालत पाटनले मनाङेविरुद्ध १२ वर्षअघि सुनाएको पाँच वर्ष कैद सजाय हुने फैसलालाई नै सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले सदर गरे। यसअघि दुई पटक गरेर ३२ महिना जेल बसिसकेका कारण फैसलापछि मनाङेले बाँकी २८ महिना कैद भुक्तान गर्नुपर्नेछ।