ठेकेदारसँग पैसाको कुरा जोडेर गोमालाई सांसदबाट हटाउन खोज्दै सीके राउत
काठमाडौँ– ठेकेदारसँग पैसा मागेको आरोप लगाउँदै जनमत पार्टीले सांसद गोमा लाभ सापकोटालाई सांसद पदबाट हटाइ दिन संसद सचिवालयलाई पत्राचार गरेको छ। सापकोटालाई सांसदबाट हटाउन जनमतले माग गरेको यो तेस्रो पटक हो।
पार्टी अध्यक्ष सिके राउतले हस्ताक्षर गरेर पठाएको पत्रमा सापकोटालाई पार्टीबाट निष्कासन गरिएकाले सांसदबाट पनि हटाउन आग्रह गरिएको छ। पत्र १ कात्तिकमै पठाएपनि सभामुखले कुनै निर्णय गरेका छैनन्।
संसद सचिवालय स्रोतका अनुसार पत्रमा सापकोटाले ठेकेदारसँग पैसा मागेको र पार्टी फुटाउन छलफल अघि बढाएको आरोप छ। सापकोटाले भने आफूलाई पार्टीले कारबाही गरेको विषयमा जाकारी नभएको बताएकी छिन्।
उनलाई सांसद पदबाट हटाउन जनमत पार्टीले यसअघि १४ फागुन ०८० र २७ फागुन ०८० मा गरी २ पटक संसद सचिवालयमा पत्राचार गरेको थियो। महोत्तरीको महोत्तरी गाउँपालिका–३ की सापकोटा समानुपातिक सांसद हुन।