निश्चित भयो रवि लामिछानेको ३६ दिन प्रहरी हिरासतको वसाई, त्यसपछि बुटबल लगिने

पोखरा— सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेको प्रहरी हिरासतको बसाई ३६ दिन पुग्ने भएको छ। आईतबार कास्की जिल्ला अदालतले थप १३ दिन हिरासतमा राख्न अनुमति दिएसँगै रविको हिरासत वसाई १ महिना वढि पुग्न लागेको हो।

जिल्ला अदालतका न्यायाधीश नवराज दाहालको इजलासले लामिछानेसहित सोही कसुरमा पक्राउ परेका गोर्खा मिडिया नेटवर्कका अर्का सञ्चालक पूर्वडीआईजी छविलाल जोशी, लीला पछाईं र रामबहादुर खनाललाई अनुसन्धानका लागि १३ दिनको हिरासतमा राख्न अनुमति दिएको हो।

लामिछानेलाई २ कात्तिकमा रास्वपाको केन्द्रीय कार्यालय चःमतिबाट पक्राउ गरेर कास्की ल्याइएको थियो। लामिछानेलाई सुरुमा ६ दिन, त्यसपछि ७ दिन र १० दिन म्याद थप गरी प्रहरीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको थियो।

यसअघि २० कात्तिकमा थप गरिएको १० दिनको म्याद तिहारको सार्वजनिक बिदामा सकिएको थियो। आईतबार विदाका कारण म्याद थप गर्न नमिलेकोले बिदाको दिनकोसमेत जोडेर म्याद थपका गरिएको हो।

सुर्यदर्शन सहकारीको बचत लामिछाने तत्कालीन अवस्थामा प्रबन्ध निर्देशक रहेको गोर्खा मिडियामा आएको देखिएको भन्दै सहकारीसम्बन्धी संसदीय छानबिन समितिले उनीसहित गोर्खा मिडियाका पदाधिकारीहरूलाई कारबाही सिफारिस गरेको थियो।

सभापति लामिछाने पक्राउ परेदेखि नै रास्वपाले सडक आन्दोलन गरिरहेको छ। रास्वपाले दोस्रो चरणको आन्दोलन पनि घोषणा गरेको छ। राजनीतिक प्रतिशोधका कारण सभापति लामिछानेलाई पक्राउ गरिएको आरोप रास्वपाको छ।

लामिछानेविरुद्द रुपन्देही अदालतले पनि पक्राउ पूर्जी जारी गरेको छ। कास्की प्रहरीले यहाँको अनुसन्धान सकेपछि पूरक अनुसन्धानको लागि रविलाई बुटबल पठाउने तयारी गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट