मानव तस्करीमा मुछिएका निवर्तमान मन्त्री अधिकारीलाई एमालेले साधारण सदस्यसमेत नरहने गरी हटायो
विराटनगर– मानव तस्करीको आरोप लागेका कोशी प्रदेश सरकारका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री तथा प्रदेश सभा सदस्य लीलाबल्लभ अधिकारी नेकपा एमालेको सम्पूर्ण जिम्मेवारीबाट मुक्त भएका छन्।
एमाले कोशी प्रदेश समितिले पदको दुरुपयोग गरी जापानमा मानव तस्करी गरेको आरोपपछि अधिकारीलाई एमालेले राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् सदस्य तथा नेकपा एमालेको संगठित सदस्यसमेत नरहने गरी निलम्बन गरेको हो।
एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले शनिवार एक विज्ञप्ति जारी गर्दै एमाले निरन्तर कानुनी शासनको पक्षमा उभिँदै आएको पार्टी भएकोले मानव तस्करीको गम्भीर आरोपको छानबिन र अनुसन्धानमा बाधा नपुगोस् भनेर अधिकारीलाई सबै जिम्मेवारीबाट निलम्बन गरिएको बताइएको छ।
मोरङको २ नम्बर क्षेत्रको (ख)बाट निर्वाचित एमाले सांसद अधिकारीले मन्त्रीको हैसियतमा केही दिनअगाडि वैदेशिक भ्रमणसम्बन्धीका आवश्यक मापदण्ड तथा प्रक्रियाहरूसमेतको बेवास्ता गरी पदीय मर्यादाविपरीत जापानको भ्रमण गरेकाले पार्टी र संसदीय दलको तर्फबाट मन्त्री पदबाट हटाइसकिएको समेत विज्ञप्तिमा उल्लेख छ।
मानव तस्करीको आरोप लागेपछि जापानबाट फर्किएलगत्तै मन्त्री पदबाट राजीनामा दिएका अधिकारीले आफूलाई पार्टीको सबै जिम्मेवारीबाट मुक्त गर्न भन्दै पार्टीको प्रदेश कमिटीमा निवेदन दिएका थिए।
नक्कली कागजात बनाएर जापान प्रवेश गर्न खोजेको पाइएपछि १४ कात्तिकमा अधिकारीसहित ५ जनालाई जापानको अध्यागमन कार्यालयले डिपोर्ट गरेको थियो। काठमाडौं विमानस्थलमा ओर्लिएपछि ३ जनालाई प्रहरीले पक्राउ गरेको भए पनि नवलपरासीकी अनिता तिम्सिना र अधिकारीलाई सामान्य सोधपुछ गरेर छोडेको थियो।