ताप्लेजुङमा केवलकार निर्माण मजदुर र स्थानीयबीच झडप, सशस्त्र इन्स्पेक्टरसहित ६ जना घाईते
विराटनगर– ताप्लेजुङको फुङ्लिङ नगरपालिका–१०, काफ्लेपाटीमा पाथीभरा दर्शन केबलकारको निर्माणका लागि शिलान्यास गर्ने कार्यक्रममा अवरोध हुँदा शुक्रबार केबलकार मजदुर र स्थानीयबीच झडप भएको छ।
प्रहरीका अनुसार केवलकार निर्माणका लागि आवश्यक पर्ने इक्युपमेन्ट लैजान अवरोध भएपछि मजदुरहरु प्रतिकारमा उत्रिएका थिए। त्यसपछि दोहोरो झडप भएको थियो। त्यही क्रममा दुई पक्षबीच ढुंगा हानाहान भएर झडपको स्थिति सिर्जना भएको प्रहरीले जनाएको छ।
झडप हुँदा फुङलिङ नगरपालिका–४ का दामोदर अधिकारी (३०), चन्द्र मादेन (४५) र कुमार लिम्बू, फक्ताङलुङ गाउँपालिका–५ का अर्जुन लिम्बू (४१) घाइते भएका छन्। घाइते सबैको जिल्ला अस्पताल फुङलिङमा उपचार भइरहेको छ।
झडपपछि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेर स्थितिलाई नियन्त्रणमा लिइएको थियो। त्यसपछि संविधानसभा सदस्य डम्बरध्वज तुम्बाहाम्फे र फुङलिङ नगरपालिकाका मेयर अमिर मादेनले केवलकार निर्माणको सुरुवाती विन्दु काफ्ले पाटीमा केवलकार निर्माणको शिलान्यास गरेका छन्।
पाथीभरामा केवलकार निर्माण गर्न नहुने भन्दै लामो समयदेखि पहिचान पक्षधरहरु आन्दोलित हुँदै आएका छन्। पाथीभरालाई मुकुम्लुङका नाममा मान्दै आएका उनीहरुले केवलकार निर्माण भए प्रकृति नष्ट हुने बताउँदै आएका छन्।